१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा मानिस र जनावरको दिसा मिसिएको पानी भेटियो



अ+ अ-

ललितपुर । यूएनपार्क परिसरभित्र ज्वागलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ‘पम्प स्टेसन’ बनाएको छ। स्टेसनले जमिनमुनिको पानी तानेर शुद्धीकरण गरी उपभोक्ताको घरमा पठाउँछ। फलामको मात्रा धेरै भएकाले पानी पिउन योग्य छैन। तैपनि उपभोक्ताकहाँ पानी पठाउनै पर्ने बाध्यता छ। दैनिक कम्तीमा दुई घण्टा पानी वितरण गरिन्छ। धाराकै पाइपबाट पठाउने पानी घरायसी प्रयोजनका लागि मात्र हुने केयूकेएल बताउँछ। घरायसी प्रयोजनका लागि मात्र भए पनि पैसा भने खानेपानीकै सरह तिर्नुपर्छ।

केयूकेएल ललितपुर शाखाका जनसम्पर्क अधिकृत चिरञ्जीवी राउतका अनुसार ललितपुरमा दैनिक ९० लाख लिटर पानी बाँडिन्छ। तर यो मागभन्दा अत्यन्त थोरै हो। ललितपुरमा मात्र अझै १३ प्रतिशत जनता खानेपानी सुविधाबाट वञ्चित छन्। त्यसैले सर्वसाधारण वैकल्पिक स्रोतका रूपमा ट्यांकरको पानी, ढुंगेधारा, इनारमा निर्भर छन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले यस वर्ष पानीका १ सय २ नमुना परीक्षण गरेको थियो। तीमध्ये ५४ वटा उपयोग गर्न नमिल्ने थिए। स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडेलका अनुसार ट्यांकर, ढुंगेधारा, इनार सबैतिर कोलीफर्म भेटिएको हो। ‘पानीमा दिसाजन्य किटाणु भेटिनु नै कोलीफर्म हुनु हो’, पौडेलले भने, ‘मानिस र जनावरको दिसा पानीमा मिसिएपछि कोलीफर्मका जीवाणु देखिन्छन्।’

दूषित पानीका कारण छाला, फोक्सो, मिर्गौला, मूत्रथैलीको क्यान्सर, स्नायु प्रणालीमा असर, विस्मृति, निद्रा नलाग्ने, हात काम्ने, टाउको दुख्ने, दाँतमा दाग, मुटु र स्नायुमा असर पर्नेलगायत समस्या हुन सक्छन्।

धेरै मानिस ढुंगेधारालाई पानीको मुख्य स्रोत मान्छन्। वलखु चिःबहालका ७३ वर्षीय बाबुकाजी महर्जन मंगलबजारस्थित पाटन दरबार स्वायरको ढुंगेधाराको पानी प्रयोग गर्छन्। त्यसको पानी सबैभन्दा चोखो र शुद्ध मान्छन्। तर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ढुंगेधाराको पानीमा अत्यधिक मात्रामा कोलीफर्म भेटिएको थियो।

विशेषगरी पानीका मुहानकेन्द्रित सर्वेक्षणमा दर्जनौँ स्रोतको पानी परीक्षण गरिएको थियो। लुभु खानेपानी मुहान, लुभु खानेपानी वितरण केन्द्र, सक्कली स्टोर सानोगाउँ, सिद्धिपुर खानेपानी योजना, तृष्णा मिनरल वाटर कम्पनी, भालुखोला नल्लु, रसीडोल खानेपानी लामाटार, चापाखर्क लामाटार, ठेंचो, चापागाउँ, मूलडोल मुहानलगायत दर्जनौं ठाउँको पानी परीक्षण गरिएको थियो।

स्वास्थ्य कार्यालयका उपप्रशाासक खगेश्वर गेलालले पानी वितरकको उचित नियमन नगरिँदा यस्तो भएको हो। शुद्धपानी पिउने अधिकार संविधानले प्रत्याभूत गरे पनि पानी व्यवसायी, वितरक र उपभोतmा कसैको ध्यान गुणस्तरमा नगएको उनको बुझाइ छ। ‘अभावले गर्दा बेच्ने र किन्ने कसैले गुणस्तरको ख्याल गरेनन्’, उनले भने, ‘न त अन्य स्रोत नै विश्वसनीय छन्।’

केयूकेएलको योजना तथा सहयोग विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले दूषित पानी वितरक सरकारी र निजी संस्था नियन्त्रण गर्न २०७० मा निर्देशिका बने पनि कार्यान्वयन नभएको बताए। स्वास्थ्य सेवा विभागले नयाँ निर्देशिका बनाउने तयारी गरेको छ। खानेपानी व्यवस्थापन बोर्ड, नगरपालिका, खाद्य संस्थान लगायतका प्रतिनिधिले बनाएको अनुगमन कमिटीले पानीको गुणस्तर सुधार्न पहल गर्ने भएका छन्। ‘पानी वितरक संस्थाको वार्षिक दुईपटक अनुगमन भनिएको छ’, कार्कीले भने, ‘केयूकेएल, ट्यांकर व्यवसायी, बोतल व्यवसायी, खानेपानी संस्थान र विभागलगायत सबैको अनुगमन गरिनेछ।’

तर पानी वितरणमा संलग्न रहेका महालक्ष्मी नगरपालिकाको चापाखर्क मुहानका वितरक मधु पोखरेलले सबै दोष वितरकमा थुपार्न नमिल्ने बताए। ‘क्लोरिन लगाउँदा गन्ध आयो भन्छन्, नलगाए कोलीफर्म भेटिन्छ’, कतिपय अवस्थामा उपभोक्ताबाट पनि समस्या उत्पन्न भएको आरोप लगाउँदै उनले भने, ‘केयूकेएल र सरकारले मात्र ठूलो परिमाणमा ब्लिचिङ पाउडर र क्लोरिन किन्न पाउँछन्।’ मुहानमा पानी सफा भए पनि ठाउँठाउँमा चुहावट हुँदा उपभोक्ताका घरमा पुग्दा दूषित हुने उनको अनुभव छ।

केयुकेएलका जनसम्पर्क अधिकृत राउतले पानीका ट्यांकी बेलाबेला सफा गर्नुपर्ने बताए। लामो समय पानी भण्डारण गर्दा त्यसैमा फोहोर जम्ने भएकाले सचेत हुन आवश्यक छ। पुराना संरचनाअनुसार ढल र पानीका पाइप एकै ठाउँ भएकाले पनि कोलीफर्मयुतm पानी खानुपरेको हो। ०७३ सालमा दूषित पानी प्रयोग गर्दा ललितपुरमा १ सय १९ जनामा हैजा देखिएको थियो। ठैब, गोदावरी, लुभू, लामाटार, पाटन, बगलामुखी आसपासका क्षेत्रमा पनि हैजा भेटिएको थियो। ३ वर्षअघि भंैसेपाटीमा घर बनाइरहेका २७ जना मजदुर एकैपटक बिरामी परेपछि पानी परीक्षण गरियो। पानीमा कोलीफर्म भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

विद्यालय, प्रहरी चौकी र स्वास्थ्य संस्थाका पानीमा पनि कोलीफर्म

विद्यालय, अस्पताल, प्रहरी चौकी, स्वास्थ्य संस्थामा प्रयुक्त पानीका स्रोतमा समेत कोलीफर्म भेटिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सर्वेक्षणमा ७ स्कुलको पानीका नमुना समावेश गरिएको थियो। तीमध्ये बुङमतीको आदर्शशैल मावि, पुल्चोकको मदनस्मारक मावि र आइडियल मोडल स्कुल धोबीघाटको पानीमा कोलीफर्म भेटिएको ल्याब टेक्निसियन पौडेलले बताए।

परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोग गर्ने ट्यांकी र चापागाउँ प्रहरी वृत्तको निजी तथा सार्वजनिक धारामा पनि अत्यधिक मात्रामा कोलीफर्म पाइएको छ।

डिल्लीराज शाक्य पाटन, अशोक सिनेमा हल पछाडि बस्छन्। उनको घरमा खानेपानीको धारा छ। केयूकेएल ललितपुर शाखाले रिङरोडभित्र ६÷६ दिनमा एकपटक पानी वितरण गर्ने जानकारी पनि पाएका छन्। तर पानी कहिल्यै आउँदैन। तैपनि पानीको महशुल भने तिरिरहेका छन्।शाक्यका अनुसार पानीको समस्या समाधान गर्न टोलमा एउटा सार्वजनिक इनार बनाइएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा। इनारको पानी प्रत्येक २ दिनमा एकपल्ट वितरण गरिन्छ­। प्रतिघर ५ सय लिटर। पानी चलाएबापत् मासिक ७(८ सय रुपैयाँ तिर्नुपर्छ। केयुकेएलको पानीभन्दा महँगो परे पनि, गुणस्तर जाँच गरिएको छैन। उठ्ने रकम मेसिन मर्मत, इनार सरसफाइ लगायतमा खर्च हुन्छ। ‘धारामा पानी नआएपछि इनारको पानीमा निर्भर हुनुपरेको छ’, शाक्यले भने, ‘जहिल्यै अभाव कहिलेसम्म ?’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।