१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन १९ महिनापछि, मंसिरभित्रै अन्तरिम संरचना



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरू २०७७ फागुनसम्म पार्टीको १४औं महाधिवेशन गर्नेगरी विधानले तय गरेको पार्टीको संरचना बनाउन सहमत भएका छन् । करिब एक महिनासम्म पार्टीका रिक्त संरचना कसरी गठन गर्ने भन्ने विवादमा रुमल्लिएका कांग्रेस नेताहरू निर्देशिका नै बनाएर आगामी मंसिरसम्म पार्टीको अन्तरिम संरचना बनाउने र आगामी पुसपछि महाधिवेशनको प्रक्रिया सुरु गरेर २०७७ फागुनसम्म १४औं महाधिवेशन गर्नेगरी सहमतिमा पुगेका हुन् ।

हरेकजसो बैठकमा संरचना गठन सहमतिमा कि निर्वाचनबाट भन्नेमा विवाद हुँदै आएपछि महाधिवेशन कहिले गर्ने भन्ने टुंग्याएर नेताहरू संरचनाका लागि निर्देशिका बनाउन सहमत भएको स्रोतले जानकारी दिएको छ ।

निर्देशिका बनाउने सहमति गर्दा नै नेता आगामी फागुनबाट सकिने केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गर्न अनौपचारिक रूपमा सहमत भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले हरेकजसो बैठकमा पहिले महाधिवेशनको मिति तोक्न भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए ।

यस्तै, अर्का नेता कृष्णप्रसाद सिटौलाले पहिले पार्टीका रिक्त संरचना गठन गरेर महाधिवेशनमा जानुपर्ने भन्दै बैठकमा पदाधिकारीको प्रस्ट धारणा माग्दै आएका थिए । बैठक लम्बिँदै गएपछि पहिले अन्तरिम संरचना बनाउन निर्देशिका बनाउने, त्यसपछि सोही निर्देशिकाकै आधारमा मंसिरसम्म रिक्त संरचना गठन गर्ने, त्यसपछिको पहिलो केन्द्रीय समिति बैठकले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने र सोही बैठकले १४औं महाधिवेशनको मितिसमेत तोक्ने शीर्ष तहमा सहमति भएको कांग्रेस स्रोतले जानकारी दिएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने निर्देशिका बनाएर पहिले संरचनाको विषय टुंग्याउने र त्यसपछि महाधिवेशनको कार्यतालिका ल्याउने गरी पार्टीभित्र सहमति बनेको बताए ।

‘पहिले निर्देशिका बन्छ, त्यसपछि संरचना गठनको विषय अघि बढ्छ, सबै तहमा संरचना बनेपछि आगामी मंसिरपछि १४औं महाधिवेशनको विषयमा कार्यतालिकासहित कांग्रेस अघि बढ्छ,’ सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेसले शुक्रबारको केन्द्रीय समिति बैठकबाट पार्टीको अन्तरिम संरचना गठन गर्न निर्देशिका बनाउने सहमति गरेको थियो । सो निर्देशिकाका लागि बैठकले पार्टीका पदाधिकारीलाई जिम्मा दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशिका तयार भएपछि २२ साउनमा बस्ने केन्द्रीय समिति बैठकमा पेस हुने र त्यसपछि विधानको धारा ७२ ९४० अनुसार अन्तरिम संरचना गठनको प्रक्रिया अघि बढ्ने जनाए ।
प्रवक्ता शर्माले सबै तहमा संरचना बनेपछि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको कार्यतालिका ल्याउने र महाधिवेशनको प्रक्रियासमेत अघि बढ्ने बताए ।

तर, शुक्रबार शीर्ष तहमा भएको सहमतिको भने संस्थापन समूहकै केही नेताहरूले विरोध गरेका छन् । शीर्ष नेताबीचको छलफलमा भएको सहमतिका बारेमा बैठकमा जानकारी दिएपछि संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउद, शंकर भण्डारी, रमेश रिजाल, मीन विश्वकर्माले आपत्ति जनाएका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।