• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट



काठमाडौं । संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ । सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो । सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ ।

सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्सेनि महँगोमा गाडीहरू थप्ने क्रम जारी छ । परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।

सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो ।

गत वर्ष कात्तिकमा संसदीय समितिका सभापति चयन भएको दिन नयाँ गाडी माग गरेपछि संसद् सचिवालयले कात्तिकमा नै २३ वटा नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले भने १८ वटाका लागि मात्रै रकम निकासा दिएको थियो । खरिद गरिएका १८ गाडीमध्ये १२ वटा स्कार्पियोे जिप गत २६ जेठमा र तीनवटा ह्याच ब्याक कार २८ जेठमा सचिवालयमा ल्याइएको छ । बाँकी तीनवटा कार पनि ३० जेठमा ल्याइएको थियो ।

सयौं गाडी परिसरमा थन्काइँदै, बर्सेनि दर्जनौं गाडी खरिद गर्दै

गत ११ जेठमा स्कार्पियो खरिद गर्न अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ रकमान्तर गरेको थियो । वैशाखमा पाँचवटा गाडी खरिद गरेको महिना दिन नपुग्दै सचिवालयले ११ गाडी खरिद गरेको हो । संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ । सचिवालयले दुई वर्षयता ३४ वटा गाडी किनिसकेको छ ।

त्यस्तै, तीन वर्षअघि मात्र चीनले संघीय संसद् सचिवालयलाई नौ वटा किया कार उपलब्ध गराएको थियो । २०६४ सालमा अनमिन फर्किएपछि उसले प्रयोग गरेको ३० वटा स्कार्पिओ गाडी पनि संघीय संसद् सचिवालयले नै पाएको थियो । संघीय संसद्का कर्मचारीले ११ वटा साना गाडी प्रयोग गर्ने गरेका छन् । अधिकांश हुन्डाई कम्पनीका स्यान्ट्रो कार छन् । सचिवालयसँग केही पुराना इसिजु जिप पनि छन् ।

सचिवालयले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, दलका नेता, सचेतक र १६ वटा संसदीय समितिका सभापतिका लागि २३ वटा नयाँ गाडी किन्न गत वर्ष कात्तिकमै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

समिति सभापतिले सभामुख कृष्णबहादुर महरासँग आफूहरूले चढेको गाडी पुरानो भएको गुनासो गरेका थिए । त्यसपछि संघीय संसद् व्यवस्थापन समितिको बैठकले गाडी माग गरेको थियो ।

पुराना थन्काएर नयाँ चढ्ने सभापति

नयाँ गाडी अर्थसमिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समिति सभापति पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदी र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पाएका छन् ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ, राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले पनि नयाँ गाडी पाएका छन् ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मूल्यांकन समितिका सभापति निरादेवी जैरुले पनि नयाँ गाडी चढ्न थालेका छन् । संसद्मा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त २ गरी १६ समिति छन् ।

२०७४ जेठमा किनिएका स्कार्पियोे जिप विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, शिक्षा समिति सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तव, सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले लगेका छन् ।

‘सभापतिका लागि २० वटा स्कार्पिओ र राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक वटा गाडी किन्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थियौंं,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘अर्थले बजेट नपुग्ने भन्दै निकासा नदिएपछि खरिद प्रक्रिया नै रोकिएको थियो ।’

संसद् सचिवालयसँग ९३ गाडी भए पनि थप गाडी मागिएको थियो । तीमध्ये चारवटा बस छन् । संघीय संसद्मा गाडी व्यवस्थापन गर्न छुट्टै सवारी शाखा छ । सवारी शाखाका अनुसार हाल सचिवालयमा ४२ वटा स्कार्पिओ भएकोमा थन्किएर रहेका १२ गाडी प्रधानमन्त्री कार्यालयले मर्मत गरेर सञ्चालनमा ल्याएको छ । समितिका सबै सभापतिले सोही गाडी प्रयोग गरे पनि पुरानो भन्दै नयाँ माग गरेको थिए ।

सभामुख, अध्यक्ष, विपक्षी दलका नेता, सत्ता पक्षका नेता, सत्ता पक्षका मुख्य सचेतक, विपक्षी दलका मुख्य सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका सचेतकले यसअघि नै नयाँ स्कार्पियो गाडी लिइसकेका छन् । अब राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभा उपसभामुखलाई मात्र नयाँ गाडी खरिद गर्न बाँकी रहेको संसद् स्रोतले जनाएको छ ।

गाडी पर्याप्त भएकाले कुनै बिग्रिए प्रयोगका लागि भन्दै तयारी अवस्थामा राखिएको सवारी शाखाले जनाएको छ । ‘सभापतिको गाडीमा समस्या आए प्रयोगमा ल्याउन दुईवटा गाडी छन्,’ सचिवालयका कर्मचारीले भने, ‘सभापतिहरूले भने नयाँ गाडी चढ्ने इच्छा देखाउँदा नयाँ गाडी किन्नुपरेको हो ।’

नयाँ गाडी खरिद गर्दा कमिसन आउने भएकाले पनि यस्तो भएको संसद् सचिवालयकै कर्मचारी बताउँछन् । एक कर्मचारीले भने, ‘नयाँ किन्दा कमिसन आउँछ । पुराना गाडी लिलामीमा लैजाँदा पनि तिनीहरूका पार्टपुर्जा निकाल्छन् । सिंहदरबारबाट गाडीको टायर हराएको त्यसै होइन ।’
सचिवालय प्रवक्ता पाण्डेले भने केही गाडी पुराना भएकाले नयाँ किन्नुपरेको बताए । उनले मर्मतमा धेरै खर्च हुने गरेको बताए । सभामुख महरा अहिले ल्यान्डक्रुजर गाडी चढिरहेका छन् । सुवास नेम्वाङ सभामुख भएका बेला उक्त गाडी किनिएको हो । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षले पनि ल्यान्डक्रुजर नै चढ्दै आएका छन् ।

सचिवालयले फालेका गाडी प्रधानमन्त्री कार्यालयले बनायो

संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६ वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा सद्दे रहेको पाइएको छ । ‘कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन्,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसद् सचिवालयले लामो समयसम्म थन्क्याएर राखेका गाडी परीक्षण गर्दा सद्दे नै पाइएपछि प्रधानमन्त्री कार्यालयले लगेको हो ।’ प्रयोग नगरी थन्क्याएकाले ती गाडी मर्मत भने गर्नुपर्ने अवस्थामा रहेको स्रोतले बतायो ।

‘सामान्य मर्मतपछि हामी ती गाडीलाई प्रदेश तथा स्थानीय तहमा पठाउनेछौं, हामी एउटा पनि सद्दे गाडी थन्क्याउन नदिने अभियानमा छौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने । सद्दे गाडी बिग्रिएको भन्दै थन्क्याएर राखेको संसद् सचिवालय ३ करोडमा पाँचवटा नयाँ गाडी खरिद गर्ने प्रक्रियामा छ । सचिवालयले पाँच गाडी खरिद गर्न फागुन पहिलो साता बोलपत्र आह्वान गरेको सवारी शाखाका उपसचिव डिल्लीराम रिजालले जानकारी दिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।