११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जलेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बन्दै

जलेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बन्दै
अ अ+ अ-

पाल्पा । रिब्दीकोट गाउँपालिका–५ रिब्दीकोटस्थित जलेश्वर मन्दिर क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको जलेश्वर मन्दिरक्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिकाले अग्रसरता देखाएपछि अहिले सो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको हो ।

गाउँपालिकाले जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाएको छ । ‘पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार गरेर अघि बढाउने छौं,’ गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले भने, ‘त्यसअगाडि केही काम सुरुआत गरेका छौं ।’

शिवलिङ्ग, अखण्डशिव धुनी, हिमालय पर्वतमा शिवपार्वतीको मूर्ति स्थापनाले यो क्षेत्र धार्मिक पर्यटकलाई लोभ्याएको छ । शिवपार्वती र शिवलिङ्गको उचाइ ३६ इन्च छ । निकै आकर्षक शैलीमा निर्माण गरिएका मूर्तिहरुले धार्मिक पर्यटकलाई आकर्षण गर्न सहयोग गरेकोछ ।

सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्ने जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रूपमा परिचित छ । मौसम मापनका लागि सरकारले रिब्दीकोटमा राडर जडानको काम अघि बढाएको अध्यक्ष जीसीले बताए ।

संघीय सरकारबाट केही वर्षअघि यस क्षेत्रको विकासका लागि १० लाख बजेट विनियोजन गरेर कामको सुरुआत भएको हो । त्यस्तै थप ७ लाख बजेट दिएको छ । साविकको कुसुमखोला गाविसले पनि जलेश्वरमा रहेको भवनमा टिनको छाना लगाएको थियो ।

पछिल्लो समय यसलाई चिनाउन सरसफाइ, तारबार, विभिन्न बिरुवा लगाउने, वनस्पति उद्यानका रूपमा अगाडि बढाउन नर्सरी राख्ने, मन्दिरलाई थप व्यवस्थित बनाउने काम भएको छ । अध्यक्ष जीसीका अनुसार बिरुवा उत्पादनका लागि हाइटेक टनेल निर्माण भएको छ ।

मन्दिरवरपरको क्षेत्रमा विभिन्न जातका बिरुवा लगाइएको छ । एभोकाडो, टिमुर, वर, पीपल, तेजपात, लाकुरीलगायत तीन सय बढी बिरुवा यहाँ लगाइएको छ । गाउँपालिकाले मन्दिरमा भौतिक निर्माणसँगै एक सय आठ वटा पिपल रोपिएको छ । मन्दिर क्षेत्रलाई हरियाली बनाउन र धार्मिक पर्यटकका लागि आकर्षण गर्ने योजना अनुरुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

‘हामीले यस क्षेत्रको धार्मिक विकास गर्न खोजेका हौं,’ अध्यक्ष जीसीले भने, ‘यस क्षेत्रको धार्मिक महत्व बढाउने काममा अब स्थानीय सरकारले सक्रियता देखाउनुपर्छ ।’ यस क्षेत्रको विकासका लािग स्थानीयका साथै प्रदेशले पनि सहयोग गरेको छ । गएको आर्थिक वर्षमा प्रदेश सरकारले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सो बजेटबाट मन्दिर, शिव शिवलिङ्गलगायत मूर्ति स्थापना भएको छ । त्यस्तै गाउँपालिकाको बजेटबाट जलेश्वर क्षेत्रको बाटो, पानी तान्ने पम्पलगायत खानेपानी व्यवस्थापन, मन्दिर वरपरको क्षेत्रको सरसफाइ, विभिन्न जातका बोटविरुवा लगाउने काम भएको गाउँपालिकाले जनाएको छ ।

जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरूको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेनवंशीय राजाले यस क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गा छ । यस क्षेत्रमा १३६३ सालदेखि १५६३ सम्म मुकुन्दसेन प्रथमले राज्य गरेको थलो भएको इतिहास छ ।

ऐतिहासिक क्षेत्र रिब्दीकोटको थप विकास गरी पर्यटन आगमनका लागि चासो बढाउन आवश्यक रहेको छ । धार्मिक पर्यटकदेखि ऐतिहासिक विषयका अध्ययन अनुसन्धान गर्ने पनि यस क्षेत्र रुचाउने गर्दछन् । यस क्षेत्रमा बाह्रैमहीना चिसो हुन्छ ।

स्थानीय बासिन्दा कृष्ण थापाका अनुसारका रिब्दीकोट क्षेत्र धार्मिकसँग वैज्ञानिक महत्व रहेकाले पनि यस क्षेत्रको थप विकास गर्न आवश्यक रहेको छ । यस क्षेत्रमा अति दुर्लभ जडीबुटी रहेको पाइन्छ । टिमुर, चाप, चिराइतोलगायतका बिरुवा यस क्षेत्रमा पाइने हुँदा यस क्षेत्रको महत्व अझै रहेको थापाको भनाइ छ ।

स्थानीय बासिन्दा सबर विसीकाअनुसार पहिला भैरवमन्दिर रोट चढाएपछि जलेश्वर क्षेत्रमा रहेको मन्दिरमासमेत रोट चढाउनुपर्ने चलन रहेको थियो । पछिल्लो वर्षमा यो परम्परा हराउँदै गएको हो । शनिबार भैरवस्थानस्थित भैरव मन्दिरमा पूजा गर्ने र सोमबार जलेश्वर मन्दिरमा पूजा गर्ने चलन रहेको विसीले बताए ।

स्थानीय बासिन्दा खडकबहादुर थापाकाअनुसार पहिला जलेश्वर मन्दिरबाट विकुल बजाएपछि भैरव मन्दिरमा पूजा गर्ने चलन रहिआएको हो । तर, पछिल्ला वर्ष त्यस्तो चलन हटेको छ । बलपुरी स्वामीले जमीनमुनिबाट चिम्टाले पानी निकालेको भन्ने जनविश्वास रहेको छ । यस क्षेत्रमा साकिका सात गाविसका खानेपानीको मुहान रहेको छ । जलेश्वर मन्दिरको ६५ रोपनी गुठी पनि रहेको छ । गाउँपालिकाले यसक्षेत्रमा जडीबुटी उत्पादनको केन्द्र बनाउने योजना रहेको छ ।