९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाब्वे : ५० लाख मानिस भोकमरीको चपेटामा, डब्ल्यूएफपीद्वारा मद्दतको अपिल



अ+ अ-

काठमाडौं । जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ ।


कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ । अधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन् । जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ । विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ ।


डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भने, ‘हामीहरु भोकमरीको चपेटामा परेका मानिसहरुको बारेमा कुरा गरिरहेका छौँ । यदि हामीले उनीहरुको लागि मद्दत जुटाउन सकेनौँ भने उनीहरुको अवस्था झन् नाजुक हुन्छ ।’ उनका अनुसार जिम्बाब्वे अभूतपूर्व सुक्खाको सामना गरिरहेको छ । यो वर्षको सुरुवातमा इदाइ चक्रवातका कारण निकै असर पुगेको थियो ।

पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य पनबिजली प्लान्टुमा पनि असर पुगेको छ । जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ ।

पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए ।

चक्रवातका कारण मालावी र मोजाम्बिक पनि प्रभावित भएको थियो र झण्डै ५ लाख ७० हजार नागरिक प्रभावित भएका थिए, जसमा दशौँ हजार मानिसहरु घरबारविहीन भएका थिए ।