९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छः मन्त्री पुन



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।

त्यस्तै पर्यटकहरुलाई दुई सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सङ्ग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयले संस्कृति, संस्कार, जीवनपद्धति र कलाको प्रतिनिधित्व गर्ने गरेकाले यसको संरक्षण एवं संवद्र्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आवमा प्रदेश सङ्ग्रहालयका लागि रु एक करोड विनियोजन गरिएको जानकारी दिदैं ३५ वर्ष पुरानो सङ्ग्रहालय भए पनि सो अनुरुप प्रगति गर्न नसकेको बताउनुभयो ।

प्रदेश सङ्ग्रहालय कार्यालयका प्रमुख करुणा राईले सङग्रहालयको विकास, विस्तार, उपयोगिता र संरक्षणका विविधपक्षमाथि प्रकाश पार्नुभभयो । कार्यक्रममा तमु पेलु सङ्घका अध्यक्ष ओमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका प्रबन्ध निर्देशक शङ्करबहादुर गौतम, वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले सङग्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको धारणा व्यक्त गर्नुभयो ।