काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाई आयोगले जानकारी गराएको हो ।
निर्वाचन घोषणा भएको करिब एक महिना पछि यस अवधिमा आयोगबाट भएका क्रियाकलाप बारे आयोगले जानकारी गराएको हो । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।