५ असार २०८३, शुक्रबार
,
Latest
सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हप्तामै भत्कियो कालोपत्रे, ट्याक्टरलाई दोष !



अ+ अ-

कृष्ण न्यौपाने
दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ ।दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा ट्याक्टरको कारण सडकको केही भाग भत्किएको हो ।

छाब्दी बसपार्क नजीकैको सो सडकमा दुई हप्ताअघि मात्र कालोपत्र गरिएको थियो । तर आलो सडकमै लोड ट्र्याक्टर हिँडाएका कारण सडकको केही भाग भत्किएको छ । खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पाङ्ग्राले सडक किनाराको केही भाग भत्काएको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोडको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयवासीले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् । तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताहरुको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीयवासी बताउँछन् ।

सङ्घीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ को कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८०० मिटर सडकमा पक्की नालासहित कालोपत्र गरिएको थियो । भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको रु दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको रु एक करोड बजेटबाट कालोपत्र गरिएको हो । सङ्घ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्सट्रक्शन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्शनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसी पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती सडकमा लगिँदा सडक भत्किएको बताउनुभयो । भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उहाँले शाखा सडकभन्दा निर्माण गरिएको सडकअग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा सडक भत्किएको जानकारी दिनुभयो ।

छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताउनुभयो ।

छाब्दीबाराही गुरुयोजना तयार

व्यास–१४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरको गुरुयोजना तयार भएको छ । छाब्दीबाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो ।

छाब्दीबाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकीकरण र फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछा लगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने लगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीबाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको गुरुयोजना निर्माणका संयोजक एवं पोखरा क्याम्पसका उपप्राध्यापक श्रीकान्त खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्ग ढुङ्गा बिछ्याउने, बराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

गुरुयोजनाअनुसार अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमका लागि रु एक करोड ९६ लाख ४० हजार बजेट आवश्यक पर्दछ । छाब्दीबाराही मन्दिर आउने भक्तजनलाई आकर्षित गर्न मन्दिर परिसरमा १० फिटका मत्स्यदेवीको मूर्ति प्रतिस्थापन गरिसकिएको छ ।

घुमाउने ताल निर्माण

घिरिङ गाउँपालिकाले घुमाउने ताल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको हो ।

घिरिङ गाउँपालिका–३ मा अवस्थित गोफाखोला थुनेर ताल बनाउन गाउँपालिकाले चालू आव ०७६/७७ मा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । रु तीन करोडभन्दा बढी लागत अनुमान गरिएको ताल निर्माणका लागि गाउँपालिकाले रु तीस लाख विनियोजन गरेको थियो । गत वर्ष विनियोजित बजेटले ताल बनाउने गोफा खोलामा चारैतिरबाट मोटरबाट पु¥याइएको छ ।

“ताल जाने ठाउँमा चारैतिरबाट मोटरबाटो विस्तार सम्पन्न भएको छ”, गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो, “तालको पहिलो चरणको डिपिआर तयार भयो, दोस्रो चरणको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । डिपिआर तयार भएलगत्तै काम शुरु गर्ने तयारी छौँ ।” गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।

गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको प्रति रोपनी रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ,” उहाँले भन्नुभयो । ताल करीब ८० रोपनी क्षेत्रफलमा फैलिनेछ । अधिग्रहण बाहेकका जग्गा सार्वजनिक जग्गा रहेको रानाले जानकारी दिनुभयो । शुरु भएको तीन वर्षभित्र ताल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

घिरिङ गाउँपालिका पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेपछि ताल निर्माणसँगै अन्य स्थानहरुको प्रवद्र्धन गर्ने योजनामा गाउँपालिका जुटेको उपाध्यक्ष सरस्वती सिग्देलले बताउनुभयो । उहाँका अनुसार ताल निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिनेछ ।

घुमाउने ताल नामकरण गरिएको तालको बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । उपाध्यक्ष सिग्देलले भन्नुभयो, “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरको क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिनेछ ।

घिरिङ गाउँपालिकामा प्राकृतिक पुल, ताले ताल, चौबिसे राज्य अन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छ । घिरिङकोट दरबारमा भ्यू टावर निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ ।




भर्खरै