२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोग प्रतिवेदन : सरकारमाथि प्रश्नै प्रश्न



अ+ अ-

मधेसकेन्द्रित दलहरुलाई उदारवादी, लोकतन्त्रवादी र वास्तविक राष्ट्रवादी शक्तिका रुपमा चित्रण

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले संघीय संसद्मा ६ महिनादेखि तराई–मधेस र थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । यही विषयलाई लिएर गत महिना तीन साता प्रतिनिधिसभा बैठक अवरुद्ध भयो ।

सरकार भने अझै प्रतिवेदन सार्वजनिक गर्न तयार छैन । किन त ? प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाउनुलाई यसको कारण मानिएको छ ।
गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले २०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ । आन्दोलन चलेका बेला सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
आयोगले सरकारलाई बुझाइसकेको तर सार्वजनिक नगरिएको प्रतिवेदनमा अधिकारका लागि भएका शान्तिपूर्ण आन्दोलनमा दमन गरिएको उल्लेख छ । जिम्मेवारी पूरा नगर्ने, प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने तथा आदेश पालना गर्ने तत्कालीन प्रहरी र स्थानीय प्रशासनका कर्मचारीमाथि अनुसन्धान र कारबाही गर्न पनि सिफारिस गरिएको छ । स्रोतबाट कान्तिपुरलाई प्राप्त पूर्ण प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्नुको मुख्य दोष सरकारलाई देखाइएको छ । आन्दोलनकारीका कुनै कमजोरी उल्लेख गरिएको छैन ।
जाँचबुझ आयोगमा पूर्वनायब महान्यायाधिवक्ता सूर्य कोइराला, नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी सुखचन्द्र झा, वरिष्ठ अधिवक्ता सुजन लोप्चन सदस्य र गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखा प्रमुख (सदस्यसचिव) थिए । आयोगले १४ महिना लगाएर प्रतिवेदन तयार गरेको हो । तराई–मधेसका १९ जिल्लाबाट संकलन गरिएका ३ हजार २ सय ५४ वटा उजुरीको अध्ययन/अनुसन्धानपछि प्रतिवेदन तयार गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदनअनुसार सरकारविरुद्ध १ हजार ९ सय ३८ र आन्दोलनकारीको विरोधमा १ हजार ३ सय २६ उजुरी परेका थिए । आन्दोलनकै समयमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । असोज ६ मा सुरु नाकाबन्दी मधेसकेन्द्रित दलहरू आन्दोलनबाट फिर्ता नभएसम्म कायम थियो ।
संविधान जारी हुनुअघि २०७२ असोज १ सम्ममा भएका झडप र हिंसाका कारण ५६ प्रदर्शनकारी र एसएसपी लक्ष्मण न्यौपानेसहित १० प्रहरीको मृत्यु भएको थियो । त्यति बेला कोइराला प्रधानमन्त्री थिए । उक्त घटनालाई आयोगले अधिकार प्राप्तिका लागि भएको शान्तिपूर्ण मधेस आन्दोलनमा सरकारकै कारण जनधनको क्षति हुन पुगेको र त्यसको जिम्मा सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
मधेस आन्दोलनमा सरकारले नै परिस्थितिभड्काएको आयोगको निष्कर्ष छ । आयोगले न्यायिक प्रक्रियाबिनै प्रदर्शनकारीमाथि विभिन्न कसुरमा मुद्दा चलाएको भन्दै सरकारमाथि प्रश्न उठाएको छ । निष्पक्ष अनुसन्धानबिनै आन्दोलनकारीलाई जेल पठाएको भन्दै आयोगले सरकारको आलोचना गरेको छ ।
आन्दोलनकै क्रममा हत्या, आगजनी र लुटपाटलगायत कसूरमा संलग्न भएको अभियोगमा राजपा नेपालका सांसद रेशमलाल चौधरीसहित १ दर्जन आरोपित कारागारमै छन् । प्रतिवेदनमा आन्दोलन प्रभावित जिल्लामा रहेका प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
मधेस आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि झूटा मुद्दासमेत लगाइएको भन्दै प्रतिवेदनले न्यायिक निरूपणबाट मात्रै त्यसको छिनोफानो गर्न सरकारलाई भनेको छ । यस्तै देशप्रति सबै भेगका नागरिकको अपनत्व हुने गरी नीति निर्णय लिन पनि आयोगले सरकारलाई सुझाव दिएको छ ।
मधेस आन्दोलनका सम्बन्धमा मनन गर्नुपर्ने र सो सन्दर्भमा सरकारद्वारा राजनीतिक निर्णय गरी नीतिगत रूपमा अपनाउनुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने कार्यहरू शीर्षकमा आयोगले ‘खस आर्य समुदायका सत्ताभोगी शासक र एकल जातीय राष्ट्रवादको साँघुरो घेरामा मुलुक सीमित रहेको’ आरोप पनि लगाएको छ ।
आयोगले अधिकार र समान अवसर प्रदान गर्नुपर्ने उल्लेख गर्दै मधेसकेन्द्रित दलहरूका माग समयमै सम्बोधन गर्न नसके विखण्डनको विषय बढ्दै जानेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण पनि गराएको छ । मधेस आन्दोलनविरोधी शक्तिहरूले प्रहरी र प्रशासनकै संरक्षणमा हत्या, हिंसा, आगजनी र तोडफोड गराएको तर त्यसमा निष्पक्ष अनुसन्धान नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।
आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई सरकारी सेवा वा सरकार नियन्त्रित संघसंस्थामा रोजगारी प्रदान गर्ने, रोजगारीमा आबद्ध हुन नसक्ने परिवारलाई जीवन निर्वाह भत्ता दिने तथा मधेसमा हिमाल/पहाड र तराई क्षेत्रका सहिदको सामूहिक स्मारक निर्माण गर्नेलगायतका कदम छिटो चाल्न सरकारलाई सुझाव दिइएको छ ।
तराई–मधेसको घटना छानबिनको माग उठेपछि २०७३ साउन २१ मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । ८ महिना समय थपेर आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७ सय ९ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन थप अध्ययनका लागि भन्दै २०७४ पुस १३ गते प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।
किन सार्वजनिक गरिएन ?प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले आयोगको सिफारिस पूर्वाग्रही र राज्य संयन्त्रलाई कमजोर बनाउने किसिमको भएकाले तत्काल सार्वजनिक गर्न नसकिएको जनाए । ‘जाँचबुझ आयोगको सिफारिस निष्पक्ष, तथ्यपरक, राष्ट्र र जनताका पक्षमा हुनुपर्ने हो, तर लाल आयोगले राज्य संयन्त्रमाथि नै गम्भीर आक्षेप लगाएर प्रतिवेदन तयार पारेको छ,’ ती अधिकारीले भने, ‘आन्दोलनकारीले एसएसपीसहितका सुरक्षाकर्मीलाई भाला रोपेर हत्या गर्दासमेत आयोगले राजनीतिक माग र शान्तिपूर्ण प्रदर्शन भनेको छ, यसमा सरकार सहमत छैन ।’
आन्दोलनका घाइते, मृतक र अंगभंग भएका व्यक्ति तथा परिवारका लागि सरकारले १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको उल्लेख गर्दै उनले फेरि पनि त्यसैका नाममा राहत तथा क्षतिपूर्ति दिइरहन नसकिने बताए ।
गृह मन्त्रालयका पूर्वसचिव गोविन्द कुसुमले कसैप्रति नजिक वा टाढा रहेर प्रतिवेदन तयार पार्दा आयोगको औचित्यमाथि प्रश्न उब्जिने बताए । आयोगका प्रतिवेदन वा सुझाव लागू गर्न वा सार्वजनिक गर्न सरकार बाध्यकारी नहुने पनि उनले बताए ।
‘घटनाबारे निष्पक्ष, पारदर्शी ढंगले जनताको भनाइलाई समेटेर पूर्ण जानकारी प्राप्त गर्न सरकारले आयोग गठन गर्ने हो । आन्दोलनको कुनै एक पक्षको भावनासँग नजिक वा टाढा रहेर तयार पारिएको प्रतिवेदन औचित्यहीन हुन्छ,’ उनले भने, ‘लाल आयोगको प्रतिवेदनले पनि कुनै एक पक्षलाई नजिक वा टाढा राखेर हेरेको छ भने त्यसलाई सार्वजनिक गर्दा सरकारले सम्भावित परिस्थिति आकलन गरेको हुनुपर्छ ।’ उनले क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै पनि आयोगले निष्कर्ष वा टिप्पणी गर्न नहुने उनले बताए ।
आयोगका अध्यक्ष लालले प्रतिवेदन देश र जनताको हितमा भएको दाबी गरे । सार्वजनिक गर्ने/नगर्ने अधिकार भने सरकारकै भएको प्रतिक्रिया उनले दिए । ‘देशका सबै नागरिकलाई समान अधिकार दिलाउने पक्षमा प्रतिवेदन तयार पारिएको छ,’ उनले कान्तिपुरसित भने, ‘यसलाई सार्वजनिक गर्दा सबैलाई फाइदा पुग्छ ।’
लालले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन होओस् भन्ने आफूले चाहेको बताए । ‘प्रतिवेदन नेपालको पक्षमा छ, यसले देशप्रति विश्वास कायम गराउँछ,’ उनले भने, ‘सबैको समान अधिकार कायम नभएसम्म देशमा स्थिरता, शान्ति र स्थायित्व हुँदैन भन्ने विषय हामीले प्रतिवेदनमा उल्लेख गरेका छौं ।’
‘प्रहरीकै कारण टीकापुर घटना’कैलालीको टीकापुर घटनाका सम्बन्धमा आयोगले प्रशासन र प्रहरीकै मिलेमतोमा प्रदर्शनकारी र आन्दोलन पक्षधरमाथि दमन भएको ठहर गरेको छ ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मीको ज्यान गएको थियो । त्यस दिन १८ महिने अबोध बालकसमेत मारिएका थिए । बालकको मृत्यु प्रहरीको गोली लागेरै भएको आयोगको निष्कर्ष छ ।
टीकापुरलगायत तराई–मधेसका विभिन्न स्थानमा आन्दोलनविरुद्ध घूसपैठ र प्रतिकार समूह खडा हुँदा पनि प्रशासन मूकदर्शक बनेको प्रतिवेदनको ठहर छ । टीकापुर घटनामा प्रतिगामी तत्त्वको हात रहेको उल्लेख गर्दै आयोगले यसमा मधेसी तथा थरुहट पक्षधरहरूको संलग्नतालाई इन्कार गरेको छ । ‘आन्दोलन विरोधीहरूद्वारा प्रहरी र प्रशासनको संरक्षणमा समेत ठाउँ–ठाउँमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्, प्रमुख उदाहरणका रूपमा कैलाली टीकापुरको घटना/दुर्घटनालाई लिन सकिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ, ‘थरुहट आन्दोलनका क्रममा लागेका जनतालाई जानीजानी दुःख दिन प्रशासनले लगाएको निषेधाज्ञाको अवधिमा समेत अपराधमा संलग्नहरूलाई नियन्त्रणमा नलिई जानीजानी तोडफोड र लुटपाट गर्न दिने प्रहरी एवं प्रशासनका अधिकृतहरूले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह नगरेको देखिएकाले निजहरूमाथि एवं सो अपराध गर्ने गराउने अन्य व्यक्तिहरूमाथिसमेत अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्छ ।’
टीकापुर घटनामा तोडफोड र आगजनी हुँदा प्रहरी प्रशासनले शान्तिसुरक्षा प्रयोजनार्थ बल प्रयोग गर्ने अवस्था रहे पनि जानाजान परिस्थिति नियन्त्रणमा नलिएको प्रतिवेदनमा उल्लेख छ ।
‘आन्दोलनमा प्रहरी ज्यादती’आयोगले मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीले ज्यादती गरेको निष्कर्ष निकालेको छ । ‘आन्दोलनकारीको मृत्यु तथा प्रहरीका ज्यादतीपूर्ण अपशब्दका साथै लाठी र गोलीका प्रहारका कारण मधेस त्रासमा रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यस प्रकारका घटना स्थानीय प्रशासनको निर्देशन र आदेशबिना सम्भव हुन सक्तैन ।’
आयोगले आन्दोलनकारीलाई ‘राज्य संयन्त्रसँग समान अधिकार माग गरिरहेका जनता’ भनेको छ । मधेस आन्दोलनमा ज्यादती गरेका प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनका अधिकारीमाथि छानबिन गर्दा त्यसको पुष्टि हुने दाबी पनि आयोगले गरेको छ ।
‘आन्दोलनका क्रममा भएका घटनामा स्थानीय प्रशासन, सशस्त्र प्रहरी, जनपद प्रहरीका अधिकारीको संलग्नता वा निर्देशन थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘सो कुरा निजहरूबाटै खुलाउन सकिन्छ ।’ आयोगले यसका लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत छानबिन र अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
मधेसका पक्षमा सुझावआयोगले मधेस आन्दोलनलाई सम्बोधन हुने गरी तत्काल कदम चाल्न सरकारलाई सुझाव दिएको छ । आन्दोलनमा मारिएका ६६ मध्ये ५६ जनालाई मात्रै सहिद घोषणा गरिएको उल्लेख गर्दै बाँकी ४ जनालाई प्रक्रिया पुर्‍याएर सहिद घोषणा गर्न आयोगले सुझाव दिएको छ । सरकारले भने उनीहरू आन्दोलनमा नभई अन्तै मारिएको भन्दै सहिद घोषणा गरेको छैन ।
आयोगले मधेसकेन्द्रित दलहरूलाई उदारवादी, लोकतन्त्रवादी र वास्तविक राष्ट्रवादी भनी चित्रण गरेको छ । नेपाललाई लोकतन्त्र र शान्तिको बाटोमा डोर्‍याउन यहाँ जन्मेका र बसोबास गरिरहेका सबै भूमिपुत्रलाई समान अधिकारको प्रत्याभूति दिई अखण्डता र सार्वभौमिकतामा कुनै अप्ठ्यारो नपार्ने शक्ति भनिएको छ ।
नागरिक समानताको अधिकारलगायतका भाषा र संस्कृतिगत पहिचान, स्वाभिमान र संघीयता, आरक्षण तथा समानुपातिक समावेशीकरणसम्बन्धी विषयका कारण मधेस आन्दोलन भएको आयोगको ठम्याइ छ । ‘यी विषयलाई समाधान गर्न राष्ट्रिय नीति तथा कार्यक्रम बनाई तदारुकताका साथ कार्यान्वयनमा ल्याउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
‘दबाब दिन विखण्डनको एजेन्डा’आयोगले मधेसवादी दल तथा व्यक्तिहरूले माग पूरा गराउनका लागि दबाब दिन विखण्डनका एजेन्डा बोक्ने गरेको समेत संकेत गरेको छ ।
‘मधेसी जनता मधेसलाई अखण्ड भागकै रूपमा हेर्न चाहन्छन्, मधेसमा भएका सबै संघर्ष मुख्य रूपले मधेसी जनताको स्वाभिमानपूर्वक नेपाली भएर बाँच्ने आकांक्षा र समान अधिकारको प्रत्याभूतिका लागि मात्र भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर मधेसी जनताको यो आकांक्षा समयमा पूरा हुन नसकेको र भेदभाव भोग्दै आइरहेको हुनाले योसँग नागरिकता, भाषा, संस्कृतिगत पहिचान, स्वाभिमान, भाषा, संघीयता, सीमांकन, आरक्षण, समावेशीकरणदेखि समानुपातिक समावेशीकरण हुँदै स्वायत्तता र छिटपुट रूपमा स्वतन्त्रताका मागसम्म पुग्न सक्ने आशंका हुन लागेको देखिन्छ ।’ संविधान जारी भएपछि यो समस्या बढ्दो क्रममा रहेको आयोगको निष्कर्ष छ ।
सुरक्षाकर्मीलाई सुझावआयोगले शान्तिसुरक्षा व्यवस्थापनमा परिचालन हुने सुरक्षा निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदनको सुझाव नम्बर ११ मा भनिएको छ, ‘सुरक्षा निकायहरूको स्पष्ट कार्यक्षेत्र र कार्यादेशसहित उत्तरदायी नेतृत्वमा परिचालन गरिनेप्रणाली विकास गरिनुपर्छ ।
एकभन्दा बढी सुरक्षा निकाय स्पष्ट नीतिबिना परिचालित हुँदा लिड एजेन्सीको दायित्व स्पष्ट हुनुपर्छ । परिचालनदोहोरिने र खप्टिने हुनुहुँदैन ।’ टीकापुरको समस्या पनि प्रहरी र सशस्त्र प्रहरीको भूमिका स्पष्ट नभएकाले हुन पुगेको भन्ने प्रतिवेदनमा उल्लेख छ ।
आयोगले प्रत्येक प्रदेशमा भीड नियन्त्रणका लागि प्रभावकारी र चुस्त संयन्त्र बनाउन सुझाव दिएको छ । नागरिकले गर्ने आन्दोलन/प्रदर्शन सोचेभन्दा ठूलो र नियन्त्रणका लागि चुनौतीपूर्ण हुन सक्ने भएकाले कम्तीमा प्रत्येक प्रदेशको मुख्य सहरमा अत्याधुनिक उपकरणसहित भीड नियन्त्रण टोली खटाउनुपर्ने सुझाव आयोगले दिएको हो ।
भीड र अन्दोलनमा हुन सक्ने घूसपैठ, अराजक गतिविधिलाई समयमै नियन्त्रण र कम क्षतिमा निस्तेज गर्न गुप्तचर संयन्त्रलाई प्रभावकारी बनाउन पनि सुझाव दिइएको छ । सुरक्षा फौज परिचालन र निर्देशन दिने निजामती नेतृत्व, अनुगमन, नियन्त्रण र आदेशलाई जिम्मेवारी र पारदर्शीबनाउन पनि भनिएको छ । (कान्तिपुर दैनिकबाट साभार)




भर्खरै