४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

तीजको दर किन करकर ?

तीजको दर किन करकर ?
अ+ अ-

लीला लुइँटेल

तीज सङ्घारमै आइसकेको छ । तीजको दरविरुद्ध अनेक व्यङ्ग्यमूलक प्रस्तुतिले पत्रपत्रिका एवं सामाजिक सञ्जाल रङ्गिन थालिसकेका छन् । प्रगतिशील विचार राख्नेहरूले विरोध र व्यङ्ग्यको तारो बनाएको तीजको दरलाई केही समययता प्रशासनिक निकायले पनि विकृतिको भण्डार भन्दै यसमाथि प्रतिबन्ध लगाउन खोजेका समाचार पनि आइरहेका छन् ।

तीजको मौलिक संस्कृतिलाई जोगाउन यस्तो प्रतिबन्ध लगाउनुपरेको पनि सुनिँदै छ ।
तीजको दर तारे होटलमा खाए रे, असीमित खर्च गरे रे, यसले सामाजिक विभेद सिर्जना गर्‍यो रे भनिएको सुनिन्छ । पहिलो कुरा, अहिले हुने व्रतबन्ध पार्टीलाई हेरौं । व्रतबन्ध गरिएको बटुकले ६ महिनासम्म माछा–मासु, लसुन–प्याज जस्ता गरिष्ठ एवं तामसी भोजन गर्न नहुने भन्ने व्यावहारिक अभ्यास हाम्रै समाजमा मेरो पुस्तासम्मले देखेभोगेकै हो ।
यसबारे शास्त्रीय मर्यादा त योभन्दा पनि कडा हुनुपर्छ । तर अहिले व्रतबन्धकै दिन गरिने पार्टीमा समेत बार्बिक्यु गर्नुपर्ने अनि बिजुलीपानीको खोलो बगाउनुपर्ने स्थिति अनिवार्यजस्तै भइसकेको छ । एउटा बटुकको कर्म–चलाइ संस्कृृति, परम्परा र व्यवहारविरोधी हुँदा चाहिँ हाम्रो संस्कृतिको संरक्षण भयो ?
हिन्दी सिरियलका प्रभावमा परेर हाम्रो परम्परामै नभएका मेहन्दी, हल्दी, सङ्गीतजस्ता कार्यक्रम विवाहका अवसरमा समावेश गर्न थालिएको धेरै भयो । यस्ता कार्यक्रममा त झन् पहिरनको प्रकार र रङ्ग नै तोकेर आफन्तलाई समेत तनाव दिने गरिन्छ । तीजको दरलाई विकृतिको भण्डार मानेर प्रतिबन्ध लगाउन फर्मान जारी गर्नेहरू पनि यस्ता कार्यक्रममा समावेश भएको मैले देखेकी छु । तीजका अवसरमा दिदीबहिनीहरू पालैपालो भेला हुँदा विकृति भित्रिएको देख्ने प्रशासनका ठेकेदारहरूले हाम्रो परम्परामै नभएका यस्ता देखावटी क्रियाकलापमा प्रतिबन्ध लगाउन सक्छन् ?
हाम्रो समाजमा क्यान्सरका रूपमा रहेको दाइजो एवं तिलक प्रथाबाट कैयौं चेलीबेटी जिउँदै जल्न बाध्य भएको तिक्त यथार्थ पनि कसैबाट छिपेको छैन । दिन–प्रतिदिन अनियन्त्रित ढङ्गले महँगा हुँदै गएका ज्वाइँ र तिनका आफन्तले कन्यापक्षलाई अमानवीय एवं अकल्पनीय सङ्कटको खाडलमा धकेल्ने कुकृत्य हामीले देखेभोगेकै छौं । यसतर्फ प्रशासनको ध्यान गएको खै ?
तीजमा लुगा–गहनाको प्रदर्शनीले गर्दा सामाजिक विभेद सिर्जना भएको आरोप पनि हाम्रा दिदीबहिनीले खप्नुपरेको छ । यस सन्दर्भमा महँगा लुगा र गहना किनिदिन नसक्दा कतिको दाम्पत्य जीवन नै धराशायी भएको प्रचार गर्न पनि बाँकी राखिएको छैन । यसो भन्नुको तात्पर्य हाम्रा दिदीबहिनी अत्यन्त ईर्ष्यालु, अव्यावहारिक, मूर्ख एवं विवेकहीन छन् भनी प्रमाणित गर्न खोज्नु हो ।
अरूले घोडा चढे भनेर आफू धुरी चढ्न खोज्नु नेपाली महिलाको स्वभाव पटक्कै नभएको मेरो अनुभूति छ, केही अपवाद व्यक्तिका स्वभाव हुन् । नेपाली महिला अत्यन्त सहनशील, विवेकशील, व्यावहारिक एवं धैर्यशाली छन् भन्ने कुरा मेरो अल्पअनुभवले अनुभूति गरेको छ । यसरी तीजका विरुद्ध भडास पोख्ने नाममा आफ्ना आमा, दिदीबहिनी एवं गृहलक्ष्मीलाई नकारात्मक विशेषण कसैले पनि नदेओस् । तीजको दरलाई विकृत चलन देख्ने प्रशासनले हिजोहाम्रै चन्दाको भरमा बाँचिरहेकाहरूलाई अहिले तिम्रो यस्तो अकुत सम्पत्ति एवं भौतिक विकास कसरी भयो भनेर प्रश्न गर्न सक्छ ?
अहिले हाम्रो समाजमा केक संस्कृतिले व्यापकता पाएको छ । अरू त अरू, गुरुपूर्णिमा जस्ता नितान्त वैदिक परम्परामा आधारित प्रचलनमा समेत केक अनिवार्य गर्न थालिएको देख्ने, सुन्ने, भोग्ने हामी नै हौं । अझ जिन्दगीभर माछामासु, अन्डा, लसुन–प्याजको संसर्ग नै नगरेका आमाबा अनि हजुरआमा–हजुरबा समेतलाई कागजको झिल्के टोपी लगाइदिएर अन्डा प्रयोग गरिएको केक कोच्याएर हामीले कस्तो संस्कृति भित्र्याउँदै छौं ? यसले हाम्रो संस्कृति र परम्पराको रक्षा गरेको छ कि उपहास, यसतर्फ कसैको ध्यान गएको छ ? यस्ता क्रियाकलापमा रमाई–रमाई भाग लिने प्रशासनका ठेकेदारहरूले तीजकै निहुँमा भए पनि योजनाबद्ध ढङ्गले चेलीमाइती पालैपालो एक ठाउँमा भेटघाट गर्दा किन विकृतिको पहाडै खसेको देख्छ ?
एक महिना अघिदेखि मनाउने भन्दै समय र पैसाको दुरुपयोगका रूपमा तीजको खिल्ली उडाए पनि यसले घरपरिवारमा कुनै असर नपारेको तथ्य जगजाहेरै छनि ! तीजमा भेटघाट गर्ने योजना बनाउँदा एउटी आमा आफ्ना बच्चालाई खुवाई–पियाई तिनलाई विद्यालय पुर्‍याएर मात्र यस्ता कार्यक्रममा सहभागी भएको, त्यस्ता कार्यक्रममा भेला भैसकेपछि पनि ‘मेरो घरमा बुबाआमालाई (सासू–ससुरा) लाई खाजा खुवाउने बेला भयो, चिया खुवाउने बेला भयो, स्कुलमा बच्चा लिन जाने बेला भो’ भन्दै कार्यक्रमस्थल छोडेर गएको हामी कसैबाट पनि छिपेको छैन त ! दैनिक तालिकामा कुनै असर नपारी आफ्ना कर्तव्य निर्वाह गर्दै दिदीबहिनी भेला भएका ठाउँमा एक क्षण उपस्थिति जनाएर केही बेर भए पनि रमाउनुले कस्तो विकृति ल्याएको देख्छ, हाम्रो प्रशासनले ?
तीज पर्व नेपाली महिलाले भोग्नुपर्ने कतिपय बाध्यात्मक प्रचलनभन्दा निकृष्टचाहिँ छैन । अर्कातिर, चेली र उसका आफन्तको ज्यानै लिने दाइजो र तिलक प्रथाभन्दा आतङ्ककारी पनि पक्कै छैन । माथि उल्लिखित लगायत अनेक अनुल्लिखित ढोंगी एवं देखावटी क्रियाकलापले हाम्रो समाजमा केही असर गरेको नठान्ने एवं नदेख्ने प्रशासन तीजको दरलाई विकृति देखेर प्रतिबन्ध नै लगाउनुपर्ने अवस्थामापुगेको देख्दा अचम्म लागेको छ ।
अचेल सरकारी एवं गैरसरकारी संस्थाबाट बजेटप्राप्त महिला भेलाहरूमा एक जना महिला पनि उपस्थित नगराई माला–खादा पुरुषले नै लगाएर मञ्चमा ढलिमली गरिरहेको दृश्य कसैका लागि पनि नौलो होइन । उदाहरणका लागि, २०७६ जेठ ३२ गते नवलपरासीमा महिला स्वास्थ्य स्वयंसेविका भेला थियो । स्वास्थ्य स्वयंसेविका भन्नासाथ महिला भन्ने स्पष्ट हुन्छ । नेपालमा स्वास्थ्य स्वयंसेविकाले भोग्नुपरेका दुःखकष्ट एवं पीडाबारे सबैलाई जानकारी नै छ ।
यसरी घामपानी, हुरीबतास, तुषारो झेल्दै घरपरिवार, दूधमुखे बालकलाई समेत पन्छाएर इमानदारीपूर्वक आफ्नो कर्तव्यमा लागिरहेका दिदीबहिनीलाई पाखा लगाएर उनीहरूका नाममा आएको बजेटले दाजुभाइले खादा–माला लगाई मञ्चमा ढलिमली गरेको देख्दा जोकोहीको पनि शिर निहुरिन्छ । अझ स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि स्थान नदिइएका यस्ता कार्यक्रममा प्रशासनिक ठेकेदार र कथित नेताहरूले तिनले भोग्नुपरेका कष्ट र पीडाबारे के कस्ता भाषण गरे होलान् ? कति पाने कार्यपत्र पेस गरे होलान् ? स्वास्थ्य स्वयंसेविकाका लागि कति अर्ती–उपदेश छाँटे होलान् ? यस्ता लज्जास्पद विकृतितर्फ चाहिँ प्रशासनको ध्यान किन नगएको होला ?
प्रशासनमा बस्नेहरूलाई, एक्काइसौं शताब्दीको विद्युतीय सञ्चारको युगमा प्रचलित मानव अधिकारलाई नै चुनौती दिने हाम्रा अनेक चालचलनको विरोध गरेर सत्तासीन एवं शक्तिवालालाई चिढाउनुभन्दा दिदीबहिनीले पालैपालो मिलेर वर्षमा एकपटक गर्ने भेटघाटकै विरोध गर्न सजिलो लागेको त होइन ? (साभारः कान्तिपुर दैनिक)