२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको ठूलोलुम्पेकमा न घर न दर : दरभन्दा डर धेरै



अ+ अ-

गुल्मी । घरसँगै रहर बगे । महिना दिनदेखि टेन्टमै । नीमकुमारी सिँजालीको मनमा हर्ष छैन । उनको परिवार अहिले अस्थायी शिविरमा बसेको छ । नीमकुमारीको घर मात्रै पहिरोले लगेन । माइती पनि टेन्टमै छन् । ‘घर माइती दुवैतिर बिजोग छ, कसरी माइत जाने रु उनी भन्छिन्, ‘न घर न दर, त्यसैले त्रिपालमुनि भएकाले छोरीलाई पनि बोलाएको छैन ।’ घर नै नभएपछि छोरीहरूले पनि बोलाउने आश मारेको उनले बताइन् । निमकुमारीको माइत पनि लुम्पेककै कसिंथलामा पर्छ । त्यो स्थान पनि पहिरो प्रभावित भएकाले माइती पनि टेन्टमै बसेका छन् । ‘घरसँगै अन्न र वस्तुभाउ पनि पहिरोले लग्यो,’ उनले भनिन्, ‘के खान छोरी–चेली बोलाउने ?’

गाउँमा दरभन्दा डर धेरै
अहिले गाउँसहर तिजले छोएको छ । माइती जानेको लर्को छ । तर, सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकका महिलाहरूलाई भने तिजले छोएको छैन । सिंदी गाउँमा लीला तरामुको बिहे गरेको २० वर्ष भयो । तिज माइतमै रमाइलो गरेर बित्थ्यो । तर, अहिले कुनै सुरसार छैन । मनमा खुसी नभएपछि चाडवाडको कुनै अर्थ नहुने लीलाले बताइन् । ‘आकाशमा कालो बादल देखे कता गएर ज्यान जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘लुम्पेकमा अहिले दरभन्दा डर धेरै छ ।’ सिद्ध प्राविकी प्रधानाध्यापक ज्ञानमाया तरामूले गाउँमै वारपार गर्नसमेत जोखिम रहेको बताइन् । उनले भनिन्, ‘लुम्पेकबाहिर माइत भएकालाई मात्र नभएर ठूल्ठूला पहिरो भएकाले गाउँमै पनि हिँड्डुल गर्न मुस्किल छ ।’

कहरमा छैन मिठो–मसिनो खाने रहर
गाउँमा धेरै महिला छन् । पुरुष कोही परदेशमा त कोही कामका सिलसिलामा घरबाहिर बस्छन् । स्थानीय शिक्षक दुर्गाबहादुर तरामूले दिदी–बहिनीहरूलाई माइतको मिठो मसिनोभन्दा आफ्नै पसिनोको चिन्ता धेरै भएको बताए । उनले भने, ‘राति वा पानी परेमा मात्रै शिविर जाने नत्र घाम लागेको वेला गाउँमै आएर घरगोठ मर्मत गर्ने, बचेको अन्नपात स्याहार्ने, वस्तुभाउलाई घाँसपात गर्नुपर्ने बाध्यता महिलाहरूलाई छ ।’ भीमा तरामू पनि योपटक माइत गइनन् । घरमा बस्न मिल्दैन । सानी छोरी छिन् । गोठमा वस्तुभाउ, छोडेर जाने उपाय छैन । उनले भनिन्, ‘छिमेकमा मादल बज्छ, मनमा खुसी नै छैन । जसले गर्दा तिज नै न्यास्रो भएको छ ।’

कहिल्यै नहार्ने दिदीबहिनीले हारे
ठूलोलुम्पेक धेरै जनजाति भएको गाउँ हो । यो समुदायमा मनोरञ्जनात्मक क्रियाकलाप धेरै हुन्छन् । विगतका वर्षहरूमा लुम्पेकका दिदी–बहिनीले तिजमा भाग नलिएका ठाउँ थिएनन् । सिंदी बजार आमा समूह प्रख्यात नाम हो । ‘गाउँदेखि जिल्लासम्म यो समूह नपुगे सबैले खल्लो मान्थे, तिजका धेरै प्रतियोगितामा हारेको रेकर्ड छैन,’ टोल सुधार समितिका संयोजक दानमाया तरामूले भनिन्, ‘अहिले प्रकृतिले हरायो, गाउँ नै शोकमा छ ।’ समन्वय समितिले गाउँमा अहिले शिविरमै एकदिन खीर खुवाउनेबाहेक अरू कुनै कार्यक्रम नगरेको उनको भनाइ छ । पहिरोका कारण ठूलोलुम्पेकमा पाँच र लिम्घामा आठ गरेर १३ जनाको ज्यान गएको छ, भने झन्डै १३ जना विस्थापित भएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।