काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको साउनमा उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो । यस वर्ष खाद्य तथा पेय पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मुद्रास्फीतिमा थप दबाब परेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक २.२८ प्रतिशत थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो ।
खाद्य समूहमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेलमा देखिएको छ । यसको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले वृद्धि भएको छ ।
गैर–खाद्य तथा सेवा समूहमा यातायातसम्बन्धी मूल्य सबैभन्दा बढी बढेको छ । यातायातको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.१७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मदिराजन्य पेय पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको छ ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको दर सहरी क्षेत्रको तुलनामा केही बढी देखिएको छ । साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशतले बढ्दा सहरी क्षेत्रको ५.८८ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा सबैभन्दा उच्च मुद्रास्फीति मधेश प्रदेशमा देखिएको छ । मधेशमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९४ प्रतिशत पुगेको छ । सबैभन्दा कम मुद्रास्फीति सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमालमा ५.१० प्रतिशत रहेको छ ।
यसैबीच, साउनमा थोक मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा थोक मुद्रास्फीति २.३७ प्रतिशत मात्र थियो ।









