काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए आगामी सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि सञ्चालन गर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव राईले फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोली, युवा टोली, एन्फा एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक तथा रेफ्रीलगायत प्रभावित भएको बताउनुभयो ।
उहाँले निलम्बनका कारण एन्फा एकेडेमीमा रहेका बालबालिकाको खानपान, बसोबास तथा पठनपाठनसमेत प्रभावित भएको जानकारी दिनुभयो । त्यस्तै, यू–१५ विश्वकप तथा फेस्टिभलमा सहभागी हुने युवा टोलीको तयारीमा समेत असर परेको उहाँको भनाइ छ ।
राईले सरकारसँग सहकार्य गरेर समस्या समाधान गर्न एन्फा तयार रहेको बताउँदै तत्काल निकास ननिस्किए फिफाको निर्देशनअनुसार सोमबारदेखि दैनिक गतिविधि अघि बढाउनुपर्ने अवस्था आउने बताउनुभयो ।
उहाँका अनुसार तेस्रो पक्षको हस्तक्षेपका कारण एन्फा फिफाको निलम्बनमा परेको हो । निलम्बनपछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग एन्फाको औपचारिक सम्पर्कसमेत हुन नसकेको उहाँले बताउनुभयो । एन्फाले प्रयोग गर्ने आधिकारिक इमेलसमेत ब्लक भएको उहाँको दाबी छ ।
राईले फिफाले पंकजविक्रम नेम्बाङ नेतृत्वको तत्कालीन कार्यसमिति तथा वर्तमान महासचिवलगायत पदाधिकारीलाई अझै आधिकारिक रूपमा मान्यता दिएको दाबी गर्नुभयो । त्यसैले आफूहरू बर्खास्त नभई निलम्बित अवस्थामा मात्र रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले निलम्बनअघि नै फिफाले पटक–पटक पत्राचार गर्दै समस्या समाधान नभए निलम्बन हुनसक्ने चेतावनी दिएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच आवश्यक सहमति हुन नसक्दा अन्ततः निलम्बनको अवस्था आएको उहाँको भनाइ छ ।
राईका अनुसार फिफाले निलम्बन फुकुवाका लागि राखेपले २५ मार्च २०२६ मा गरेको निर्णय पूर्ण रूपमा खारेज गर्नुपर्ने, हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने तथा एन्फाको विधानअनुसार निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्नुपर्ने शर्त राखेको छ ।
फिफाको निलम्बन आगामी ३० सेप्टेम्बर २०२६ सम्म फुकुवा नभए बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता प्रभावित हुनसक्ने एन्फाले जनाएको छ ।
निलम्बनका कारण एन्फा मुख्यालय तथा एकेडेमीका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष टोलीका खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा तलब–भत्ता पाउन नसकेको एन्फाको दाबी छ । त्यस्तै, विभिन्न आपूर्तिकर्तालाई करिब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको राईले जानकारी दिनुभयो ।
राईले नेपाली फुटबलमा थप क्षति हुन नदिन सरकार, फिफा र एएफसीबीच तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यूजपोलार
१ आश्विन २०८३, बिहीबार १७:२०
न्यूजपोलार
१ आश्विन २०८३, बिहीबार १७:२०
१ आश्विन २०८३, बिहीबार १७:२०








