३० भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव



अ+ अ-

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ।

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले दसैँका समयमा सडकको अवस्था, यात्रुवाहक सवारीसाधनको चाप र अत्यावश्यक वस्तुको आपूर्तिलाई ध्यान दिएर मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

महासंघका अध्यक्ष बाँनियाले सडक विभागले विभिन्न सडकको अवस्थाबारे जानकारी गराएको र त्यसका आधारमा दसैँमा मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले ठूला मालवाहक सवारीसाधनलाई आवश्यकता र सडकको अवस्थाअनुसार सञ्चालन गर्ने तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गर्न दिनुपर्ने सुझाव दिनुभयो।

“सडक विभागले कुन सडक कस्तो अवस्थामा छ भन्ने जानकारी गराएको छ। त्यसका आधारमा ठूला मालवाहक सवारीसाधन नल्याउने, तर अत्यावश्यक सामान लिएर आउने सवारीसाधनलाई सञ्चालन गर्न दिने विषयमा छलफल भयो,” अध्यक्ष बाँनियाले भन्नुभयो।

उहाँका अनुसार दसैँमा यात्रुवाहक सवारीसाधनको चाप बढी हुने भएकाले मालवाहक सवारीसाधन सञ्चालन गर्दा यात्रुको आवतजावतलाई समेत ध्यान दिनुपर्ने महासंघको धारणा छ। अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने गरी सडकको अवस्था र यात्रुको चापअनुसार मालवाहक सवारीसाधन व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो।

बाँनियाले सडक विभागसँग थप समन्वय गरेर दसैँका लागि आवश्यक व्यवस्थापनबारे विस्तृत रूपमा काम गर्ने विषयमा समेत छलफल भएको जानकारी दिनुभयो।

“अत्यावश्यक सामानको ढुवानी रोक्नु हुँदैन। यात्रुवाहक सवारीसाधन बढी चल्ने भएकाले त्यसलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन सञ्चालन गर्ने विषयमा सुझाव दिएका छौँ। विभागसँग अझ राम्रोसँग बसेर आवश्यक व्यवस्थापन गर्ने कुरा भएको छ,” उहाँले भन्नुभयो।

बैठकमा महासंघका तर्फबाट अध्यक्ष बाँनिया र महासचिव चौलागाईं सहभागी हुनुभएको थियो। दसैँअघि सडकको अवस्था र सवारीसाधनको चापलाई ध्यानमा राख्दै सरकारले आवश्यक तयारी गर्नुपर्ने महासंघको सुझाव छ।