काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा हटाएर सातामा एक दिन शनिबार मात्रै बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो।
उहाँले आइतबारको बिदा आवश्यक नरहेको भन्दै यसलाई खारेज गरी यसअघि कायम रहेको शनिबार मात्रै बिदा दिने व्यवस्था पुनः लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
‘यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँमा यसले नकारात्मक असर पारिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस्।’
सांसद भाटले विपद्को समयमा सहयोग गर्ने मुस्लिम समुदायलगायत सबैलाई धन्यवादसमेत दिनुभयो।
सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि इन्धनको खपत कम गर्ने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।









