३० भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीयूमा अन्तर्वार्ता लिएको विषय संसदमा उठ्यो, सांसद बाँस्कोटाले मागिन् स्पष्ट प्रोटोकल



अ+ अ-

काठमाडौँ। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ।

प्रतिनिधि सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा अन्तर्वार्ता लिने र त्यसका लागि अनुमति दिने कार्यको नैतिकतामाथि प्रश्न उठाएकी हुन्।

उनले आईसीयू गम्भीर तथा जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताइन्।

उपचाररत बिरामीमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिने कार्यले बिरामीको संवेदनशीलता र अस्पतालको उपचार प्रणालीप्रति गम्भीर प्रश्न खडा गर्ने उनको भनाइ थियो। अन्तर्वार्ता लिन अनुमति दिने पक्षले समेत यस्तो विषयमा जिम्मेवारीपूर्वक सोच्नुपर्ने उनले बताइन्।

‘मानिसको जीवनभन्दा ठूलो कुनै पनि कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन सक्दैन’ भन्ने धारणा राख्दै सांसद बाँस्कोटाले मानव जीवनलाई टीआरपी वा भ्युजसँग तुलना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

उनले आईसीयूमा उपचाररत बिरामीलाई अनावश्यक हैरानी नहुने व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्। अस्पतालभित्र बिरामीको अधिकार, उपचारको गोपनीयता र स्वास्थ्य सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

सांसद बाँस्कोटाले मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित विभिन्न पक्षलाई समेटेर ‘मेडिकल नेग्लिजेन्स ऐन’ तत्काल ल्याउन सरकारसँग माग गरिन्। साथै, आईसीयूमा बिरामीको संवेदनशीलता र सुरक्षासम्बन्धी प्रोटोकल कसरी पालना गर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड बनाउनुपर्ने उनले बताइन्।