काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारी र स्थानीय आयआर्जनका अवसर सिर्जना गर्न सकिने खर्क तथा चरन क्षेत्रको विकासमा रहेका कानुनी तथा नीतिगत अवरोध हटाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ विषयक बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्कसम्बन्धी विद्यमान कानूनको व्यापक पुनरावलोकन आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, भूमिसम्बन्धी कानून तथा सार्वजनिक जग्गा र खर्कसँग सम्बन्धित अन्य कानुनी व्यवस्थाबीच पर्याप्त समन्वय हुन नसकेको बताउनुभयो । कतिपय अवस्थामा एकअर्कालाई सहयोग र पूरक बन्नुपर्ने कानूनले नै एकअर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको उहाँको भनाइ थियो ।
सार्वजनिक जग्गा, खर्क तथा चरन क्षेत्रको संरक्षण, उपयोग र व्यवस्थापनसँग सम्बन्धित सबै कानुनी व्यवस्थालाई समेटेर गम्भीर छलफल गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो ।
उहाँले खर्क तथा चरन क्षेत्रलाई परम्परागत पशुपालनका लागि मात्रै प्रयोग हुने भूभागका रूपमा नहेरी व्यवसाय, उत्पादन र रोजगारी सिर्जनाको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
चौँरी, भेडा, बाख्रालगायत पशुपालनबाट आम्दानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले बेरोजगारी ठूलो चुनौतीका रूपमा रहेको नेपालमा रोजगारी र स्थानीय आयआर्जनका अवसर भएका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
‘हाम्रा विद्यमान ऐनहरू एकअर्कालाई सहयोग र पूरक बन्नुभन्दा कतिपय अवस्थामा एकअर्कालाई विस्थापित गर्ने खालका देखिन्छन्,’ उहाँले भन्नुभयो, ‘वन ऐन, राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, भूमिसम्बन्धी कानुन तथा खर्क र सार्वजनिक जग्गासँग जोडिएका अन्य कानुनी व्यवस्थाबीच पर्याप्त समन्वय आवश्यक छ ।’
अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रसँग सम्बन्धित नीति तथा कानून निर्माण गर्दा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । विभिन्न ऐन तथा नीतिबीच देखिएका अन्तरविरोध पहिचान गरी समाधानका लागि आवश्यक सुझाव व्यवस्थित रूपमा नीतिगत तथा कानुनी प्रक्रियामा लैजानुपर्ने उहाँको भनाइ थियो ।
सार्वजनिक जग्गा तथा खर्कको संरक्षणसँगै त्यसको उत्पादनशील उपयोग सुनिश्चित गर्न सके स्थानीय समुदायको आयआर्जन र रोजगारी विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष दाहालले बताउनुभयो ।









