काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाका बाढीपहिरोबाट विस्थापित परिवारको अवस्थाबारे जानकारी लिँदै प्रदेश सरकार पीडित नागरिकको साथमा रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री थापाले आज कपनस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बस्नुभएका रसुवाका बाढीपहिरोबाट विस्थापित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका पीडा, समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिनुभएको हो ।
विपद्का कारण घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाउनुपरेको अवस्थामा पीडितको पीडा सुन्नु मात्र नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री थापाले पीडित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्यलगायत अत्यावश्यक सेवा उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दीर्घकालीन पुनःस्थापना तथा पुनःनिर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । रासस









