२६ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने : न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना गर्ने



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी २४ सेप्टेम्बर (२०२६) मा सम्बोधन गर्नुहुने भएको छ।

विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहने महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’ मा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आगामी २२ देखि २८ सेप्टेम्बरसम्म महासभाको उच्चस्तरीय सत्र सञ्चालन हुँदैछ। यस पटकको महासभाको मूल नारा ‘विश्वासको पुनर्बहाली, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ। महासभामा हालसम्म विश्वका ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुखहरूको सहभागिता निश्चित भइसकेको छ।

नेपालमा गत वर्ष भएको युवा पुस्ताको ‘जेन-जी’ आन्दोलन, त्यसपछि सम्पन्न शान्तिपूर्ण निर्वाचन र भारी जनमतसहित गठन भएको वर्तमान सरकारका विकास तथा सुशासनका प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न यो भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत नयाँ राजनीतिक परिवेशमा नेपालको लोकतान्त्रिक यात्राबारे विश्व समुदायलाई आश्वस्त पार्दै अन्तर्राष्ट्रिय सहयोग र सद्भाव विस्तारका लागि उच्च तहबाटै आह्वान गर्नुहुनेछ।

यस पटकको महासभामा नेपालले जलवायु न्याय र विपद् व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाउने भएको छ। गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले नेपाल जलवायु संकटको अग्रमोर्चामा रहेको विषयलाई जोडदार रूपमा उठाउनुहुनेछ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे तापनि जलवायुजन्य विपद्बाट सर्वाधिक प्रताडित हुनुपरेको यथार्थ विश्व समुदायसमक्ष राख्दै प्रधानमन्त्रीले ‘हानि तथा नोक्सानी कोष’ बाट नेपालजस्ता जोखिमयुक्त मुलुकहरूले तत्कालै र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दाबी प्रस्तुत गर्नुहुनेछ। साथै, जलवायु-अनुकूलन पूर्वाधार निर्माण र आधुनिक कृषिका लागि आवश्यक प्रविधि तथा सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन धनी र औद्योगिक मुलुकहरूलाई अपिल गरिने मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले ४६ प्रतिशतभन्दा बढी वनजङ्गल, विशाल हिमालय र नदी प्रणालीमार्फत विश्व पर्यावरण जोगाउन पुर्‍याएको ऐतिहासिक योगदानको समेत चर्चा गरिनेछ।

महासभाकै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु-उत्थानशील भविष्यका लागि कार्य आह्वान’ शीर्षकमा एक उच्चस्तरीय विशेष साइड-इभेन्ट आयोजना गर्दैछ। बढ्दो तापमानका कारण हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रसम्म परेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय विमर्श गराउनु यसको मुख्य उद्देश्य रहेको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू , असंलग्न आन्दोलन तथा ‘जी-७७ र चीन’ का मन्त्रीस्तरीय बैठकहरूलाई सम्बोधन गर्नुहुनेछ।

साथै, उहाँले छिमेकी तथा मित्रराष्ट्रका समकक्षी र राष्ट्रसंघका उच्च पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ।