काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकार नियुक्त गर्नुभएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई आगामी मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हित तथा राहत र पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले छोटो अवधिका लागि पराजुलीलाई सल्लाहकार नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
पराजुलीले संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो समय काम गरेको अनुभव रहेको छ । विपद्पछिको मानवीय राहत, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा उहाँको अनुभव उपयोगी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।
मन्त्रालयका अनुसार पराजुलीको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयबाट सञ्चालन हुने मानवीय कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको छ ।









