काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । उहाँले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री नगरेको गुनासो उपभोक्ताबाट आउने गरेको बताउनुभयो ।
बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाउने अवस्था आउनुले ‘नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन्’ भन्ने पुष्टि भएको हो कि होइन भन्दै उहाँले प्रश्न गर्नुभयो । बजारमा वास्तवमै ग्यासको अभाव भए सरकारले नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।
ग्यास अभाव समाधान गर्न पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने पनि सांसद तामाङले बताउनुभयो । उहाँले समस्या समाधानमा सरकार गम्भीर भएर आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन । यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।’
सांसद तामाङले ग्यासको आपूर्ति तथा वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।









