२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा माछा मार्ने क्रममा चौधरीको मृत्यु असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आफैं उद्योग सञ्चालन गर्न खोजेको भन्ने भाष्य गलत भएको स्पष्ट पार्नुभयो । उहाँले लामो समयदेखि बन्द तथा समस्याग्रस्त अवस्थामा रहेका सरकारी उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने तयारी भइरहेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्टलगायत सातवटा सरकारी निकायको विस्तृत मूल्यांकन (डीडीए) गरिएको छ । उक्त मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गर्दै निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिन सकिने उहाँले बताउनुभयो ।

विगतमा उत्पन्न विवादित विषयलाई नछोई निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी लिन सक्ने वातावरण बनाउने सरकारको तयारी रहेको उहाँको भनाइ छ । निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिनुअघि भने दशकौँदेखि थुप्रिएको ऋण, ब्याज, साँवा तथा अन्य आर्थिक दायित्व फरफारक गर्नुपर्नेमा सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामीले धुलो टक्टक्याएका हौँ । यसलाई एउटा निश्चित बिन्दुमा पु¥याएर निजी क्षेत्रलाई नै दिने हो ।”

अर्थमन्त्री वाग्लेले सार्वजनिक लगानी व्यवस्थापन समितिमार्फत सरकारी उद्योगको मूल्यांकन तथा व्यवस्थापनको काम अघि बढाइएको बताउनुभयो । डीडीएको निष्कर्षका आधारमा सरकारी स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरिने र त्यसपछि निजी क्षेत्रलाई सञ्चालनको अवसर दिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले विगतका विवादित विषयमा नअल्झिई उद्योग सञ्चालन गर्न इच्छुक निजी क्षेत्रलाई परिचालन गर्ने वातावरण बनाइने बताउनुभयो । निजी क्षेत्रले सञ्चालनको जिम्मेवारी लिएर उद्योगलाई पुनर्जीवन दिन सक्ने सरकारको विश्वास रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको पनि बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अर्थतन्त्रमा उसको भूमिका थप प्रभावकारी बनाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।