२६ भाद्र २०८३, शुक्रबार
,
Latest
चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यासमा कालोबजारी गर्ने पसललाई तीन लाख जरिबाना



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएसँगै उपभोक्ता कालोबजारीको मारमा परेका छन्।

असारको अन्तिम सातादेखि नै ग्यास पाउन मुस्किल भइरहेको अवस्थामा पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोले आपूर्ति व्यवस्था प्रभावित बनेको छ।

अभावको फाइदा उठाउँदै केही व्यवसायीले उपभोक्तासँग चर्को मूल्य असुलिरहेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किरना पसललाई तीन लाख रुपियाँ जरिवाना  गरेको छ। उक्त पसलले सुगम ग्यास प्रतिसिलिन्डर दुई हजार छ सय रुपियाँमा बिक्री गरेको प्रमाण भेटिएपछि विभागले कारबाही गरेको हो। विभागका निर्देशक अनिल किराँतीका अनुसार गोप्य उजुरीका आधारमा अनुगमन गर्दा उक्त पसलले कालोबजारी गरेको पुष्टि भएको थियो।

विभागले मङ्गलबारदेखि नै ग्यास उद्योग र बिक्रेताहरूमा अनुगमन तीव्र पारेको छ। बिहीबार मात्रै १० वटा ग्यास उद्योग र डिपोको अनुगमन गरिएको थियो, जसमा अधिकांश ठाउँमा ग्यासको अभाव देखिएको र उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको पाइएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकाका १९ वटा ग्यास प्लान्टमा बुलेट आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषाजस्ता वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गरिरहेका छन्।

ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको दुई हजार ६० रुपियाँमा १०५ रुपियाँ ३८ पैसा थप गरेर बिक्री गर्न भनेको छ। यद्यपि, उपभोक्ताहरू दुई हजार छ सयदेखि तीन हजार रुपियाँ तिर्न तयार हुँदा पनि ग्यास पाउन सकिरहेका छैनन्।

नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर आवश्यक पर्नेमा हाल दैनिक औसत ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको छ।