२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’



अ+ अ-

सुदूरपश्चिम।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको छुवाछूत अन्त्य गर्दै आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उद्देश्यले विशेष कार्यक्रम र योजना अघि बढाइने गरी तयारी भइरहेको  बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले दलित तथा बादी समुदायसहित गरिब, असहाय, महिला, बालबालिका, नवयुवा र सुकुम्वासी समुदायलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई गरिब, असहाय र ‘भुइँमान्छे’ को सरकारका रूपमा स्थापित गर्ने गरी सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माणको भइरहेको उल्लेख गर्नुभयो ।

“प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिरहेका छौँ । बादी समुदायलगायत भुइँमान्छेको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा हामी सचेत छौँ । सामाजिक विभेद अन्त्य र सामाजिक न्यायका क्षेत्रमा विशेष योगदान पुग्ने गरी बजेट, नीति तथा कार्यक्रम बनाउँछौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

देशमा अझै पनि असमानता, विभेद र छुवाछूत कायम रहेकाले यसको अन्त्यका लागि राज्यले अझ धेरै काम गर्न बाँकी रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने विभिन्न प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै उहाँले समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । रासस