२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान



अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७.२२ प्रतिशत असर पुगेको छ ।

त्यसैगरी, पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत असर पुगेको छ ।

कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ । जसमध्ये सिँचाइयोग्य जमिन ६९७.०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा रु एक अर्ब नौ करोड ३० लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि रु एक अर्ब ४२ करोड लाग्ने अनुमान छ ।

प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कुल ७१ करोडको क्षति पुगेको छ । जसमा पशुपालन, कुखुरा पालन बढी प्रभावित भएको जनाइएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि रु एक अर्ब ७३ करोड लाग्ने अनुमान छ ।

बाढीका कारण बैङ्कका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । जसमा कुल रु ९१ करोड ९९ लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड आवश्यक छ ।

आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित भएका छन् । यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि रु ४५ अर्ब ४५ करोड लाग्ने अनुमान छ । रासस