काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गर्नुभएको छ ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचनअघि विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्व परिवर्तन भए मात्रै परिणाम आउने दाबी गरेको भएपनि जनताले अस्वीकार गरिदिएको बताउनु भयो ।
उहाँले अहिले राष्ट्रियताको जडलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै विशेष महाधिवेशन त्यसैको श्रृंखला भएको आरोप पनि लगाउनु भयो । उहाँले सर्वोच्च अदालतले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ महाधिवेशन गर्न पाउनेगरी न्याय दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेपालको राष्ट्रियताको जडलाई कमजोर बनाउने कोसिस भएको छ । र त्यही श्रृंखलामा विशेष महाधिवेशनको नाउमा आवश्यक नै नभएको चिज भयो । त्यही भएर अहले हामी दुईतिर अधिवेशन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । त्यसबेला निर्वाचनभन्दा अगाडि पार्टीको नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ भनिएको थियो । जनताले हामीलाई पत्याउँछन् भनिएको होइन । खै त जनताले पत्याएको ? त्यसकारण पनि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो । त्यसकारण हामी अदालतमा कानूनी बाटो अख्तियार गरेर पनि गएका छौँ । त्यसको निस्सा पनि आएको छ । चाँडै नै सुनुवाइ होला र यदि यो देशमा न्याय छ भने, यो देशमा कानून छ भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५ औँ अधिवेशन गर्न पाउँछौँ ?’
उहाँले पार्टीको आत्मा आफूहरुसँगै रहेको जिकिर पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल









