काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असन्तुष्टि, आन्तरिक विवाद र मतभेदलाई संवाद तथा छलफलमार्फत समाधान गर्ने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले लोकतान्त्रिक पार्टीमा फरक मत र आन्तरिक बहस हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई विवादको विषय बनाउन नहुने धारणा राखे ।
उनले पार्टीभित्र देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग प्रत्यक्ष छलफल गर्न आफू तयार रहेको बताए । पार्टीका सबै नेता–कार्यकर्ताको साझा लक्ष्य कांग्रेसलाई थप बलियो र एकताबद्ध बनाउनु रहेको उनको भनाइ थियो ।
देउवाले भने, ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन । हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो ।’
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई संयमित हुन आग्रह गरे । आन्तरिक समस्या पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्नेमा उनले जोड दिए ।









