काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै बाढी प्रभावितको बसोबास तथा सडक यातायात सहज बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको हो।
भौगोलिक विकटतालाई ध्यानमा राख्दै सडक यातायात सञ्चालनका लागि सरकारले आफ्नो क्षमताले मात्रै भ्याउन नसके ठूला बेलिब्रिजलगायत आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनुपर्ने सुझाव पनि राष्ट्रपतिले दिनुभएको छ।
उहाँले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति तथा सहयोगका लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा समेत जोड दिनुभयो।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था र बाढीबाट भएको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रभावित नागरिकको बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्ने बताउनुभयो।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ।
कपरराष्ट्रमन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी हुनुहुन्थ्यो।
छलफलका क्रममा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराउनुभयो। साथै, बाढी प्रभावित नागरिकको अस्थायी बसोबासका लागि क्याप्सुल होम निर्माणको कामसमेत तीव्र गतिमा अघि बढिरहेको उहाँहरूले बताउनुभयो।
सरकारले वैकल्पिक सडक निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाएको र लामो दूरीमा प्रयोग गर्न मिल्ने ठूला बेलिब्रिजका लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकेको जानकारी मन्त्रीहरूले गराएका थिए। आवश्यक सामग्री आउने क्रममा रहेको तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि सरकारले अन्य आवश्यक योजनासमेत अघि बढाएको उनीहरूले राष्ट्रपतिलाई जानकारी गराएका छन्।








