काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई लक्षित गरी सामाजिक सञ्जालमा तुच्छ टिप्पणी, कटाक्ष वा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्का बेला पीडित नागरिकको पक्षमा उभिनुपर्नेमा उनीहरूकै पीडा र आक्रोशलाई होच्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
उनले रास्वपालाई विपद्मा परेका नागरिकको पीडामाथि उपहास गर्ने ‘अन्धसमर्थक’ आवश्यक नरहेको उल्लेख गर्दै शोक र पीडामा रहेका नागरिकको आवाज सुन्ने तथा उनीहरूको पक्षमा उभिने सदस्य आवश्यक रहेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ,’ लामिछानेले भने ।
लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने अधिकार पार्टीका कुनै पनि नेता–कार्यकर्तालाई नभएको स्पष्ट पारे ।
उनका अनुसार रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी वा साइबर बुलिङमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीबाट निष्कासन गरिनेछ ।
‘यदि रास्वपाको कुनै पनि तहतको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने काममा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्य नरहने गरी तत्काल पार्टीबाट निष्काशन गरिनेछ,’ उनले भने ।
विपद्का बेला पीडित नागरिकको घाउमा नुनचुक छर्किने प्रवृत्तिका व्यक्तिका लागि पार्टीमा स्थान नरहेको पनि लामिछानेले बताए ।
उनले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानसम्म विपद् पीडित नागरिकप्रति गरिने तुच्छ टिप्पणी र कटाक्ष तत्काल रोक्न सरकारसँग समेत आग्रह गरे । त्यस्ता गतिविधि रोक्न केवल विज्ञप्ति निकाल्ने नभई नागरिकले अनुभूति गर्ने गरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
‘सामाजिक सञ्जाल र चोक चौतारोमा तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिले बन्द गरौँ,’ सरकारलाई आग्रह गर्दै उनले भने, ‘त्यसमा निर्मम विज्ञप्ति मात्रै निकाल्ने होइन, नागरिकले महसूस गर्ने गरी देखाउने हो, देखाउनु होला।’








