गत असार-साउनका ३० दिनभित्रमा नेपालका विभिन्न ठाउँमा ५ जनाले आत्मदाह गरे । भ्रष्टाचारको विरोध र सुशासनका पक्षमा भएको जेनजी विद्रोहको एक वर्षभित्र देशमा कुनै उल्लेखनीय परिवर्तन आयो कि आएन भन्ने बहस भइरहेको बेला सामान्य नागरिकले गरेको आत्मदाहलाई अहिले केहीले राजनीतिक अर्थमा हेरिरहेका छन् ।
कर्णाली प्रदेशको मुगु स्थायी घर भई काठमाडौंमा राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका गणेश नेपाली (२५) गत असार २५ गते बिहान ९ बजे घरबाट निस्किएका थिए । उनले दिउँसो खाना खान कोठामा आउने भन्दै दाइ मदनलाई खसीको खुट्टा र गेडागुडी पकाउन लगाएका थिए । तर उनी खाना खान कहिल्यै फर्किएनन् ।
घरबाट निस्किएको केही घण्टापछि उनले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बाहिरपट्टि आत्मदाह गरे । काठमाडौं महानगरपालिकाले उनको रोकिराखेको मोटरसाइकलमा ह्विल लक लगाएर १ हजार रुपैयाँ जरिवाना गरेपछि उनले यो कठोर निर्णय गरेका थिए । गणेशको भोलिपल्ट असार २६ गते उपचारकै क्रममा वीर अस्पतालमा निधन भयो । मदनका अनुसार गणेश पछिल्लो समयमा आम्दानीलाई लिएर चिन्तित थिए र राम्रो अवसरको खोजीमा थिए ।
गणेशको निधन भएकै दिन सर्लाहीका विवेक मण्डल (३५) ले पनि आत्मदाह गरे । आगोले शरीरको ८५ प्रतिशत जलेका उनलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइयो । उनको उपचारकै क्रममा केही दिनपछि निधन भयो ।
“उनले जताततै आवेदन (जागिरको लागि) दिए, तर पैसा र ‘सोर्सफोर्स’ नभएको कारण जागिर पाउन सकेनन्,” उनका बुबा उपेन्द्र मण्डलले निमजिनलाई बताए । उनका अनुसार विवेक ऋणको तनावमा पनि थिए ।
गणेश र विवेकले आत्मदाह गरेको एक महिना पनि नपुग्दै अरु थप ३ जनाले आत्मदाह गरे । प्रहरीले यी पाँचै घटनालाई आत्मदाह भनेको छ र यो परिस्थिति कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
तर केही अभियन्ताहरूले भने न्यून आय भएका नागरिकको आवश्यकता सम्बोधन गर्न नयाँ सरकार चुकिरहेका कारण यस्ता घटना भएको बताएका छन् ।
सोचनीय विषय भने आत्मदाहको संख्या मात्र नभई त्यसको तीव्रता र समय पनि हो । ३ हप्ताको बिचमा ५ जनाले आत्मदाह गरेको समय यस्तो छ कि जुन बेला भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर युवाहरूको आह्वानमा जेनजी आन्दोल भएको १ वर्ष पनि पूरा भएको छैन । त्यही आन्दोलनपछि भएको चुनावमा झन्डै दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकार बनेको ६ महिना पनि नाघेको छैन ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी र परिवारका सदस्यका अनुसार यी ५ मध्ये ३ जना आर्थिक समस्यासँग संघर्षरत थिए ।
आर्थिक असमानता र योग्यताअनुसारको अवसर नपाएकै कारण पोहोर जेनजी सडकमा उत्रिएका थिए । त्यो आन्दोलनमा गणेश पनि सहभागी भएको उनका दाइ मदनले निमजिनलाई जानकारी दिए । न्यून आय भएका नागरिकले बाँच्नकै लागि संघर्ष गरिरहँदा सरकारको माथिल्लो तहका व्यक्ति भ्रष्टाचारमा संलग्न हुने गरेको देखेर दिक्क भएका युवाहरूले प्रदर्शनको नेतृत्व गरेका थिए ।
जेनजी अभियन्ता तनुजा पाण्डे भन्छिन्,“हालैका घटनामा आत्मदाह गर्नेहरूमा श्रमिक वर्गका मानिस, आफ्नै सानो व्यापार व्यवसाय गरिरहेका मानिस र परम्परागत मर्यादाअनुसार समाजको सबैभन्दा तल्लो तहमा रहेका मानिस छन् ।”
“मलाई लाग्छ यसले सरकारको असफलतालाई औंल्याउँछ, केवल अहिलेको सरकारको मात्र होइन, ऐतिहासिक असफलतालाई पनि औंल्याउँछ,” उनले थपिन्, “जनतामा ठूलो निराशा छ र उनीहरूले कुनै उपाय देख्दैनन् ।”
समाजशास्त्रीहरू हालैका आत्महत्याका घटनालाई एउटै कारणमा सीमित नगर्न चेतावनी दिन्छन्, प्रत्येक घटनाको पछाडिको सटीक मनोवैज्ञानिक र सामाजिक कारणहरू अझै पनि अनुसन्धानको विषय हुन् ।
उनीहरूले आत्मदाहलाई कहिल्यै पनि मृत्युको रूपमा मात्र लिन नहुने बताउँछन् । “आत्मदाह एउटा विरोधको शैली हो,” मार्टिन चौतारीमा आवद्ध समाजशास्त्री प्रणव खरेलले भने ।
“त्यो कार्य गर्ने व्यक्तिले आफ्नो शरीरको प्रयोग गरेर व्यक्तिगत भावना, दुःख वा चिन्ता वा जेसुकै भए पनि व्यक्त गरेर बलियो राजनीतिक बयान पनि दिइरहेको हुन्छ । त्यसैले यो एउटा विरोध पनि हो र, त्यसकारण यो राजनीतिक पनि हो ।”
आत्मदाह सरकारको असफलताका संकेत हुन् कि होइनन् भनेर हामीले सोधेको प्रश्नको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताले जवाफ दिएनन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले यस्तो कार्य गर्नेहरूलाई सधैँ ‘बहुकारकहरू’ ले प्रेरित गर्ने बताए । यी अन्तर्निहीत कारणहरूलाई सम्बोधन गर्न ‘राज्यले गर्नुपर्ने र समाजले गर्नुपर्ने’ कामहरू रहेको उनले बताए । “राज्यको क्षमता – शिक्षा, स्वास्थ्य, रोजगारी र अर्थतन्त्रको सन्दर्भमा, र नागरिकहरूको अपेक्षाहरूबिच खाडल हुन सक्छ। त्यो खाडललाई पूरा गर्नु महत्त्वपूर्ण छ ।”
विरोधको स्वरुप
गणेशले आत्मदाह गरेलगत्तै उनको अन्तिम क्षणको भिडियो सामाजिक सञ्जालमा फैलियो । संसदमा पनि यो विषयले प्रवेश पायो र छलफल भयो ।
“सरकार कडा परिश्रम गरेर जीविकोपार्जन गर्नेहरूका लागि हो कि धनीहरूका लागि ?” गणेशको निधन भएकै दिन विपक्षी दल नेपाली कांग्रेसका सांसद खड्ग शाहीले संसद् बैठकमा भने । एउटा कामदारलाई सरकारले मृत्युको मुखमा धकेलेको आरोप उनले लगाए ।
जिम्मेवारी सम्हाले लगत्तै दर्जन बढी उच्च पदस्थ राजनीतिज्ञलाई पक्राउ गराएका गृहमन्त्री सुधन गुरुङले त्यो आरोपको ठाडै अस्वीकार गरे र विपक्षीहरूतिरै प्रत्यारोप गरे ।
गणेशको मोटरसाइकलमा ह्विल लक गर्ने व्यक्ति काठमाडौं महानगरपालिकाको प्रहरी रहेको र त्यो महानगर र प्रदेशमा विपक्षीकै सरकार रहेको उनले बताए ।
“दुई तहमा तपाईँहरूकै सरकार छ— हामीले यो नियम (निषेधित क्षेत्रमा पार्किङ गर्नेको सवारीमा ह्विल लक गर्ने र चालकलाई जरिवाना तिराउने) बनाएका हौँ ? तपाईँहरूले बनाउनुभएको हो,” उनले भने ।
यो एक महिनाभित्र भएका आत्महत्याको कुल संख्या अघिल्लो वर्ष रेकर्ड गरिएका यस्ता घटनाहरूको एक तिहाइभन्दा बढी हो ।
ब्रेन एन्ड न्युरो साइन्स सेन्टर नेपालका मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालाले प्रत्येक घटनालाई व्यक्तिगत रूपमा जाँच गर्नुपर्नेमा जोड दिए । “यदि तपाईंले कारण हेर्नुभयो भने १ हजार रुपैयाँ जरिवानालाई ठान्नुहुन्छ,” उनले भने, “हो, त्यो कारण हो । तर हामी केवल त्यसैका कारणले उनीहरूले आत्महत्या गरेको भन्न सक्दैनौं । हामीले उनीहरूको पृष्ठभूमि, उनीहरूले कस्ता कठिनाइहरू सामना गरिरहेका थिए, उनीहरूको मानसिक अवस्था कस्तो थियो भनेर जान्न आवश्यक छ ।”
“तीन वा चार महिनामा जादूको छडी प्रयोग गरेर सरकारले स्थिति परिवर्तन गर्छ भन्ने आशा गर्नु काल्पनिक र निराशावादी रूपमा एउटा मूर्खतापूर्ण विचार हो,” उनले भने ।
नेपाल दक्षिण एसियाकै एउटा न्यून आय भएको देशहरूमध्ये एक हो । यहाँ हरेक ५ जनामा एक जना नागरिक गरिबीको रेखामुनि छन् र देशको अर्थतन्त्र विप्रेषणबाट धानिएको छ ।
यस्तो स्थितिमा वर्षौदेखि सुनिँदै आएका भ्रष्टाचारका काण्ड, राजनीतिज्ञ र उनीहरूका सन्तानको देखिएको विलाशी जीवनशैलीले बेरोजगारीसँग जुधिरहेका युवाहरूलाई सडकमा ल्यायो र पोहोर जेनजी क्रान्ति भयो ।
प्रणवका अनुसार देशका धेरै मानिसहमा दशकौंदेखि ‘सामूहिक’ चिन्ताको भावना जम्मा हुँदै आएको छ, जुन माओवादीको सशस्त्र युद्धपछिको लामो संक्रमणदेखि महामारी र जेनजी विद्रोहसम्म फैलिएको छ। “जेनजीले धेरै आशाहरु दिए, तर तिनै जेनजीले धेरै आशाहरूलाई चकनाचुर पनि पारे,” उनले थपे ।
“धेरै व्यापारिक प्रतिष्ठानहरुमा आगजनी भयो, व्यक्तिगत घर र सम्पत्तिलाई निशाना बनाइयो, मानिसहरु मारिए,” प्रणवले पोहोरको प्रदर्शनको उदाहरण दिए, जुन प्रदर्शन सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा हिंसात्मक भयो र ७६ जनाको ज्यान गयो ।
अधुरै वाचा
गणेश नेपालीको मृत्युपछि संघीय सरकार र काठमाडौं महानगरपालिकाले उनको परिवारसँग ९ बुँदे सहमति गरेको थियो । जुन सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी पनि सहभागी थिए ।
निमजिनले प्राप्त गरेको सम्झौता पत्रमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने, गणेशले आत्मदाह गरेको घटनास्थलमा रहेका नगर प्रहरीलाई समितिको प्रतिवेदन नआउँदासम्म निलम्बन गर्ने, गणेशकी श्रीमतीलाई रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था गर्ने, परिवारलाई आर्थिक राहत र स्वास्थ्य बिमा तथा किरिया खर्च उपलब्ध गराउने उल्लेख छ ।

तर सम्झौताको एक महिना बितिसक्ता पनि सम्झौताका धेरै कुरा पूरा भएका छैनन् । घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयले अझै सार्वजनिक गरेको छैन । छानबिन समितिका सिफारिसहरू कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ ।
“तपाईंले यसबारे महानगरपालिकालाई सोध्नुपर्छ,” गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, “महानगरपालिकाले बोर्ड बैठक गरेर यसलाई सम्हाल्नुपर्ने थियो… त्यसबेलादेखि मैले त्यसबारे कुनै अपडेट लिएको छैन ।”
प्रवक्ता आनन्दसँग कुरा गरेलगत्तै निमजिनले काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई सम्पर्क गरेको थियो । उनले गृह मन्त्रालयबाट कुनै लिखित निर्देशन आएको बारेमा आफूलाई जानकारी नभएको बताए ।
त्यसअघि निमजिनसँगकै कुराकानीमा उनले नगर प्रहरीलाई निलम्बन गर्नेबारेमा कतैबाट कुनै निर्देशन नआएको बताएका थिए ।
यो घटनापछि नगर प्रहरीको काम गर्ने तरिकामा केही परिवर्तन आएको छ कि छैन भन्ने प्रश्नमा प्रवक्ता नवीनले प्रतिप्रश्न गरे, “के यो नगर प्रहरीको कारणले भएको हो ? के तपाईंलाई लाग्छ कि यो नगर प्रहरीको कारणले भएको हो ?” महानगरको प्रवक्ताको रुपमा आफूले उनीहरूको रक्षा गर्नुपर्ने उनले बताए ।
तर गणेशका परिवारले सम्झौताअनुसारको राहत र रोजगारी नपाएको बताए । उनको मृत्युको कारण खुलेको प्रतिवेदन सार्वजनिक नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कुनै सहयोग नलिने पनि उनीहरूले बताए ।
“सम्झौताहरू कार्यान्वयन होस् भन्ने हामी चाहन्छौं,” गणेशका दाइ मदनले भने, “त्यसपछि मात्र अरु कुराहरू अगाडि बढाउनु हामीलाई उपयुक्त लाग्छ ।”
अनुसन्धानलाई दबाइएमा आफूहरू झनै कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि उनले दिए । बुबाआमाले गणेशले न्याय नपाए सरकारकै सामुन्ने झुन्डिएर आत्महत्या गर्ने प्रतिज्ञा गरेको मदनले सुनाए ।
परिवारका अनुसार सरकारले हस्ताक्षर गरेका नौ बुँदाहरूमध्ये अहिलेसम्म पूरा भएको भनेको गणेशको अन्त्येष्टिको व्यवस्थापन र परिवारलाई काठमाडौंसम्म ल्याउने काम मात्र हो ।
यसैबीच, साउन २७ गते काठमाडौंमा र जनकपुरमा दुई जनाले आत्मदाहको प्रयास गरेका छन् । दुवै जना न्यून आय भएका र ऋणको भारले थिचिएका हुन् । उनीहरूले ऋण दिँदा चर्को ब्याज र सेवा शुल्क लिएको, ऋण असुलीका नाममा मानसिक तथा शारीरिक शोषण भएको भन्दै विरोध जनाइरहेका थिए । सयौं लघुवित्त ऋणीहरू सडकमा उत्रिएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले बताइन् ।
“नागरिकहरूमा अहिले धेरै निराशा छ,” उनले निमजिनसँग भनिन्, “सरकारको कार्यशैलीमाथि प्रश्नचिह्न उठेको छ ।”
– यो स्टोरी आत्महत्याको बारेमा छ। विश्व स्वास्थ्य संगठनको जिम्मेवार रिपोर्टिङसम्बन्धी निर्देशनअनुरूप यसमा घटनाका विवरणहरूलाई न्यूनतम रुपमा मात्र प्रस्तुत गरिएको छ । नेपालमा, मानसिक स्वास्थ्य हेल्पलाइन ११६६, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आत्महत्या रोकथाम हटलाइन ९८४००२१६०० र पाटन अस्पताल संकट सहयोग हटलाइन ९८१३४७६१२३ मार्फत नि:शुल्क गोप्य सहयोग उपलब्ध छ।
कभर तस्बिर : गणेश नेपालीको परिवार भाडामा बस्दै आएको कीर्तिपुरको कोठामा बलेको दियो छेउमा उनको तस्बिर । २५ वर्षका सवारी चालक नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर आत्मदाह गरेका थिए । तस्बिर : रजनीश भण्डारी/निमजिन
यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।









