२३ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’



अ+ अ-

भोजपुर। ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।

यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ ।

पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेलामात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्दथे । किसानलाई खसीबोका बेच्न स्थानीय हाटबजारसम्म डोहोर्याएर लैजानुपर्ने झन्झटसँगै सोचेजस्तो मूल्य नपाइने बाध्यता थियो । अहिले सडक सञ्जाल विस्तार भएसँगै गाउँका खसीबोका काठमाडौँ, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।

अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको छ ।

गाउँबाट खसीबोका सङ्कलन गरेर काठमाडौँ पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा २०० का हाराहारीमा खसीबोका काठमाडौँ पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौँ ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि एक हजार ५०० सम्म भाडा लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेल बताउनुहुन्छ । घरमै तराजुमा जोखेर बेचिने भएकाले ठगिने सम्भावना नरहेको उहाँको भनाइ छ । आफूलाई पैसा खाँचो परेको अवस्थामा तुरुन्तै बिक्री हुँदा गर्जो टार्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

“यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौँलगायतका ठूला सहरसम्म जान थालेका छन्”, उहाँले भन्नुभयो, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनु पथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।”

अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने अवस्था बनेको बताउनुभयो ।

“विगतमा पनि खसीबोका बिक्री त हुन्थे, तर सहज थिएन”, उहाँले भन्नुभयो, “आफूलाई परेका बेला तत्कालै बिक्री हुने अवस्था पनि थिएन । तर अहिले भने बिक्रीका लागि कुनै समस्या छैन ।” सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । रासस