नुवाकोट । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, जनप्रतिनिधि तथा अन्य सेवाकर्मीका लागि मोबाइल चार्ज गर्न आवश्यक सामग्री सहयोग गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा मोबाइल चार्ज गर्न समस्या भइरहेको अवस्थामा रु. २ लाख ५० हजार बराबरका पावर बैंक, डाटा केबल र चार्जर लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
विदुर नगरपालिकाका नगर प्रमुख राजेश श्रेष्ठबाट प्रभावित क्षेत्रमा मोबाइल चार्जिङको समस्या रहेको जानकारी पाएपछि मुन (ट्रु मुन एन्ड सन ट्रेड) का सञ्चालक युवराज श्रेष्ठको तर्फबाट उक्त सामग्री उपलब्ध गराइएको हो।
बाढी प्रभावित क्षेत्र विदुर नगरपालिका पुगेर नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु खनाल ‘मुस्कान’, समाजसेवी तथा युवा व्यवसायी सचिन पाण्डे र मुनका सञ्चालक युवराज श्रेष्ठको उपस्थितिमा नगर प्रमुख राजेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरिएको थियो।
सामग्री ग्रहण गर्दै नगर प्रमुख श्रेष्ठले विपत्तिको समयमा प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। उनले बाढी प्रभावित नागरिक तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई यस्ता सहयोगले थप सहजता पुग्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु खनाल ‘मुस्कान’ले महाविपत्तिको समयमा आफूहरू प्रभावित नागरिकको साथमा रहेको बताउँदै आवश्यक सहयोगमा निरन्तर हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुनका सञ्चालक युवराज श्रेष्ठ र युवा समाजसेवी सचिन पाण्डेले आगामी दिनमा पनि प्रभावित क्षेत्रमा पावर बैंकलगायत आवश्यक सामग्रीको आवश्यकता परे सहयोग गर्न आफूहरू तयार रहेको बताए।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गरेर फर्किएका सहयोगीहरूले सामाजिक सञ्जालमा देखिएका दृश्यभन्दा वास्तविक अवस्था निकै भयावह रहेको बताएका छन्। बाढीका कारण कतिपय परिवारले घर तथा रोजगारी गुमाएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य सेवाकर्मी जोखिम मोलेर निरन्तर खटिरहेका छन्।
विपत्तिको कठिन समयमा प्रभावित नागरिकलाई सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको भन्दै उनीहरूले एकजुट भएर मानवीय सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन्।









