१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेक्जिट विवाद: बिनासहमतिको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित, निर्वाचन गर्ने प्रस्ताव अस्वीकृत



अ+ अ-

काठमाडौं । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन्। पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।

सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए।

पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ।विपक्षी नेता जेरमी कोर्बिनले सहमतिबिनाको ब्रेक्जिट प्रक्रिया अगाडि बढाउनका निम्ति प्रधानमन्त्री जोनसनसँग संसद्‌मा बहुमत र संसद्‌को सहमति दुवै नरहेको बताएका छन्।

संसद्‌मा बोल्दै कोर्बिनले युरोपेली सङ्घसँग पुनः वार्ता गर्नका लागि प्रधानमन्त्रीसँग योजना र प्रस्ताव नरहेको दाबी गरे।