१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन



अ+ अ-

टेक्सास। चीनसँग सिमाना जोडिएको तिब्बती क्षेत्र हुँदै हालै नेपालमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका मानिसहरूको सम्झना र आत्माको चिरशान्तिको कामना गर्दै टेक्सासको अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आइतबार साँझ शोकसभा एवं दीप प्रज्वलन गरिएको छ ।

बाढीपहिरोमा परी नेपालको रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो भौतिक क्षति पुगेको छ भने देश–विदेशका मानिसहरूले बाढीमा परी ज्यान गुमाएका छन् र कैयौँ अझै हराइरहेका छन् ।

ग्रेटर अस्टिन नेपाली समाज र ग्रेटर अस्टिन चेम्बर अफ कमर्सको संयोजनमा अस्टिनमा सक्रिय १२ वटा सामाजिक संस्थाहरूको सहभागितामा पशुपतिनाथ मन्दिर परिसरमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल, सत्संग अमेरिका, अस्टिन नेवापुचा, सुदूरपश्चिम नेपाली समाज, अमेरिकन राप्ती समाज, इम्प्याक्ट नेपाल, अस्टिन मधेसी समाज, सेवा इन्टरनेशनल, न्यु अस्टिन मधेसी समाज, नेपाल अमेरिका पत्रकार संघ लगायतका संस्थाहरूको सहभागिता थियो ।

वैदिक स्वस्तिवाचनबाट सुरु भएको शोकसभामा पशुपतिनाथ मन्दिर सञ्चालक समितिका संयोजक देवराज न्यौपाने, ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष सिपी पौडेल, सेडारपार्क सिटी काउन्सिलकी सदस्य श्वेता पद्मनाभन, बाढीमा आफ्ना मित्र गुमाएकी जोही, सेवा इन्टरनेशनलका सिङ्गेश्वर राव, र ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष पदम ठकुराठी लगायत सबै वक्ताहरूले बाढीप्रभावित क्षेत्रमा मानवीय राहत र भौतिक क्षतिमा सरकारलाई सहयोग गर्न आह्वान गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सेवा इन्टरनेशनलका प्रतिनिधि सिङ्गेश्वर रावले नेपालमा सहयोग गर्न आफ्नो संस्थाले एक लाख डलर संकलन गरिसकेको र पाँच लाख डलर र आवश्यक औषधि लगायतका सामग्री संकलन गरी नेपाल पठाउने बताए ।

त्यस्तै सेडारपार्क सिटी काउन्सिलकी सदस्य श्वेता पद्मनाभनले राहत संकलनका लागि स्थानीय सरकार र जनस्तरमा आफूले पहल गर्ने बताइन् । शोकसभामा मन्तव्यपछि दीप प्रज्वलन गरिएको थियो ।