हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने भएको छ ।
प्रदेश कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यसमितिले बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सङ्घीय र प्रदेश सरकारसँग आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा पार्टीका प्रदेशदेखि वडा र टोल तहसम्मका संरचना परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले बताउनुभयो । प्रभावित क्षेत्रमा पार्टीका संरचना र सरकारी निकायबीच समन्वय गर्न उहाँको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । रासस









