१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गर्नुभएको छ । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पु¥याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले पुर्याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ । प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ, “आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन । आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित नागरिकको उद्धारलाई तीव्र पारेको थियो । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताउनुभएको छ ।

साथै राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी खटिनुभएको छ । उद्धारमा अन्य स्वयंसेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको उहाँले बताउनुभयो । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोज गरिसकेको छ । तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

बाढीका कारण त्यहाँ रहनुभएका धेरै नागरिक घाइते हुनुभएको थियो । उहाँहरूलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गर्यौँ र त्यो क्रम जारी छ । प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसलाई उद्धार गरी स्थानीयसँगै काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिरहेका छौँ ।

केहीबेर अघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसक्नुभएको छ भने अन्य घाइते नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ । प्रभावित क्षेत्रमा उपचार, मनोपरामर्शका लागि काठमाडौँबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको र प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

“नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ । नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको छ ।

काठमाडौँको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ ।

“मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुञ्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याइएको छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ । आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ तथा एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ । तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ । साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ । हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेको उहाँको भनाइ छ ।

साथै बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शवको व्यवस्थापन भइरहेको छ ।

पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुन बमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ ।

‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ । रासस