• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?

विश्वका अपराधीको अखडा बन्दै काठमाडौं



काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा हाल चार विदेशी थुनामा छन् । अमेरिका, बंगलादेश, यमन र जोर्डनका ती विदेशी फरक–फरक अपराधमा पक्राउ परेका हुन् ।

चारमध्ये अमेरिकी नागरिक नाथम माओवास्की अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका व्यक्ति हुन् । उनीविरुद्ध इन्टरपोलले समेत रेड नोटिस जारी गरेको थियो । बंगलादेशका मोहिन उद्दिन भारतीय पासपोर्ट बोकेर नेपाल हुँदै दुबई जाने क्रममा समातिएका हुन् । यमनका मोहम्मद अल कुरेली र जोर्डनका सेफ अडनन डिबाय खानी पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा बस्दै आएका हुन् । कुरेली आफ्नो देशमा हिंसा बढेपछि पर्यटक भिसामा नेपाल आएका थिए । यसअघि नै एटिएम ह्याकिङ तथा नेपाली युवती तस्करीमा संलग्न दुईवटा चिनियाँ गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

नेपाल विदेशी अपराधीका लागि सहज ‘सेल्टर’ बनेको यी घटनाले पनि प्रस्ट पार्छ । उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ ।

४१ देशका १२ सय नागरिक नेपाली जेलमा

विभिन्न प्रकृतिका अपराधमा संलग्न एक हजार एक सय ९५ विदेशी नेपालको जेलमा छन् । त्यसमध्ये करिब आधा भारतीय रहेको कारागार व्यवस्था विभागका कामु महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । बाँकी विश्वका ४० भन्दा धेरै देशका नागरिक छन् । जसमध्ये पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेको घिमिरेले बताए । भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।

एक वर्षमा ६ सय विदेशी निष्कासित
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासितको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

पाँच वर्षमा ३५ सय विदेशी पक्राउ
पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ । विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा मात्र नेपालमा सात सय ९७ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको कसुर र लागुऔषध मुद्दामा छन् । शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधि गरेको आरोपमा एक सय ८४ तथा लागुऔषध मुद्दामा एक सय ७५ पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७० जना चोरीमा, ५४ ठगीमा, २९ हातहतियार, १७ मानव बेचबिखन र १२ जना नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, ३९ जना बलात्कार, १५ जुवा, सात खोटाचलन र नौजना हत्या मुद्दामा पक्राउ परेका छन् । धर्म परिवर्तन, अपहरण, डकैती, आत्महत्या दुरुत्साहनजस्ता मुद्दामा पनि विदेशी पक्राउ परेका छन् । गत वर्ष विभिन्न अपराधमा जोडिएका ६४ विदेशी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् ।

आर्थिक वर्ष ०७४/७५ मा सात सय आठ, ०७३र७४ मा पाँच सय १९, ०७२/७३ मा चार सय ४९ र ०७१र७२ मा चार सय ७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । यसबाहेक अध्यागमनसम्बन्धी अपराधमा गत वर्ष सयभन्दा धेरै विदेशीलाई अध्यागमन विभागले समेत पक्राउ गरेर कारबाही गरेको थियो ।

नक्कली भारु तस्करीमा पाकिस्तानी
पाकिस्तानी नागरिकले नक्कली भारतीय रुपैयाँ तस्करीमा नेपाललाई ट्रान्जिट बनाएका छन् । पछिल्लोपटक १० जेठमा सात करोड ६७ लाख नक्कली भारुसहित पाकिस्तानी नागरिक नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार पक्राउ परका छन् । उनीहरू जेलमै छन् । पाकिस्तानीहरू ठगीमा समेत पक्राउ परेका छन् । अवैध रूपमा नेपाल बस्दै आएका पाकिस्तानीसमेत पटक–पटक पक्राउ परेको अध्यागन विभागका शाखा अधिकृत वैकुण्ठराज रेग्मीले बताए । अवैध रूपमा बस्दै आएका दुई पाकिस्तानीलाई केही महिनाअघि मात्र पक्राउ गरी निष्कासन गरिएको रेग्मीले बताए । अवैध आप्रवासीका रुपमा समेत दुई सय पाकिस्तानी नेपालमा बस्दै आएका छन् ।

बंगलादेशीको धन्दा कल बाइपासदेखि मानव तस्करीसम्म
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मात्र हालसम्म ३७ जना विदेशीलाई कल बाइपास अपराधमा पक्राउ गरेको छ । जसमा आधाजसो बंगलादेशी छन् । नेपालमा कल बाइपासको अवैध धन्दा नै बंगलादेशी इन्जिनियरले भित्र्याएको प्रहरी अधिकारीहरू बताउँछन् । ०६० पछि अवैध कल बाइपास धन्दा मौलाएको हो । ०६७ पछि प्रहरीले एक सय १० समूहलाई पक्राउ गरेपछि यो अपराध केही घटेको छ ।

नेपाल मानव तस्करीमा समेत बंगलादेशीको ट्रान्जिट बनेको छ । विगतमा हस्तलिखित पासपोर्ट हुँदा सयौँ बंगलादेशी नेपाली पासपोर्टमा विभिन्न देशमा रोजगारीमा गएको खुलेको थियो । अहिले पनि ठूलो संख्यामा बंगलादेशी नेपालमा अवैध रूपमा बस्दै आएका छन् । अधिकांशले गार्मेन्ट क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूमाथि निगरानी बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

विदेशी यौनकर्मीको समेत अखडा बन्दै काठमाडौं
पर्यटन भिसामा आएका कतिपय विदेशीहरू वेश्यावृत्तिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा चिनियाँ, रसियनदेखि उज्वेकिस्तान युवतीहरू छन् । दुई–तीन वर्षदेखि नेपालमा अवैध रूपमा बस्ने उज्वेकिस्तानका युवतीको संख्या ठूलो रहेको र उनीहरू वेश्यावृत्तिमा संलग्न रहेको अनुगमनबाट खुलेको अध्यागमन विभागका एक अधिकारीले बताए । विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्कासन गरिएको थियो । अफ्रिकी देशका केही युवतीसमेत नेपालमा यस्तो धन्दामा संलग्न रहेको प्रहरीको आकलन छ ।

आर्थिक सहयोगको आवरणमा भित्रिँदै बालयौन दुराचारी

बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तव्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएको छ । पछिल्लोपटक अस्ट्रेलियाका ६३ वर्षीय बेरीम्यान थोमस अल्फर्डलाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । आर्थिक सहयोगको आवरणमा धेरैले नेपाली बालकलाई यौन दुराचार गर्ने प्रवृत्ति देखिएको सिआइबीका डिआइजी नीरज शाही बताउँछन् । समूह नै बनाएर बाल यौन दुराचारी नेपाल आउने गरेको सिआइबीको अनुसन्धानमा खुलेको थियो । राष्ट्रसंघका पूर्वअधिकारीसमेत रहेका क्यानेडियन नागरिक पिटर जन डाल्ग्लिससहित २० भन्दा बढी विदेशी हाल बाल यौन दुराचार मुद्दामा नेपालका जेलमा छन् ।

एटिएम ह्याकिङमा युरोपियन गिरोह
५ असारमा सिआइबीले बाराका राजुकुमार पाण्डेलाई एटिएम ह्याकिङको आरोपमा पक्राउ गर्यो । तीन रोमानियन नागरिकले उनलाई सिकाएको र पैसा निकालेर रोमानियनलाई नै पठाउने गरेको अनुसन्धानमा खुलेको थियो । नक्कली एटिएमबाट पैसा झिक्न आउने रोमानियासहित बुल्गेरिया, माल्दोभा, सर्बियाजस्ता पूर्वी युरोपियन देशका नागरिक पटक–पटक पक्राउ परेका छन् । सिआइबीका अनुसार चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीयलाई सिआइबीले पक्राउ गरी मुद्दा चलाइसकेको छ । नेपालमा बैंकिङ सिस्टम र सुरक्षा कमजोर ठानेर उनीहरूले नेपाललाई हब बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

निस्शुल्क भिसासँगै भित्रियो चीनबाट अपराध
चार वर्षयता चिनियाँ नागरिकलाई नेपालमा भिसा निःशुल्क गरिएको छ । यो नीतिले नेपालमा चिनियाँ पर्यटक बढेसँगै अपराधसमेत बढेको छ । गत साता एटिएम ह्याकिङमा पाँच चिनियाँ र एक चिनियाँ मूलका फ्रेन्च नागरिक पक्राउ परेका थिए । त्यस्तै, चिनियाँसँग घरजम गराउने नाममा नेपाली चेली तस्करी गर्ने र यौनदासीका रूपमा प्रयोग गराउने चार चिनियाँलाई दुई साताअघि पक्राउ गरेको थियो । सुन तस्करी, डलरको अवैध कारोबार, वन्यजन्तुका अंगको तस्करी, जडीबुटीको अवैध कारोबारदेखि लागुऔषध कारोबारसम्म नेपालमा चिनियाँहरू पक्राउ परेका छन् ।

निःशुल्क भिसा नीतिले पनि नेपाालमा चिनियाँलाई सहज भएको र आपराधिक उद्देश्यले नै धेरै आउन थालेको प्रहरी अधिकारीहरू बताउँछन् । भ्रमण वर्ष २०२० पछि चिनियाँलाई भिसामा शुल्क लिनेबारे छलफल भइरहेको अध्यागमन विभागका एक अधिकारीले बताए ।

विद्यार्थी र बिजनेस भिसा बोकेर धर्म प्रचारदेखि सुन तस्करीसम्म
पर्यटक भिसा मात्र होइन बिजनेस र विद्यार्थी भिसामा नेपालमा बस्दै आएका विदेशीसमेत आपराधिक गतिविधिमा संलग्न रहेको खुल्दै आएको छ । ललितपुरमा व्यवसायको आवरणमा चर्च चलाउँदै आएकी एक अमेरिकीलाई दुई महिनाअघि मात्र अध्यागमन विभागले निष्कासन गरेको थियो ।

त्यस्तै, विद्यार्थी भिसामा बस्नेले पनि अवैध गतिविधि गरेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । ‘विश्वभाषा क्याम्पसलगायत निकायमा हामीले निगरानी बढाएका छौँ,’ उनले भने, ‘विद्यार्थी भिसामा नेपालमा बस्ने र अन्य काम गर्ने सूचना प्राप्त भएको छ ।’

हाल करिब दुई हजार विदेशी नेपालमा विद्यार्थी भिसामा छन् । जसमध्ये ठूलो संख्या नेपाली भाषा पढ्न विश्वभाषा क्याम्पसमा भर्ना हुने गरेका छन् । ग्रामीण क्षेत्रका कतिपय क्याम्पसमा समेत विदेशीहरू भर्ना भएका छन् । तर, उनीहरू धर्म प्रचार तथा जासुसीजस्ता गतिविधिमा संलग्न रहेको अध्यागमनको आशंका छ । त्यस्तै, बिजनेस भिसामा बसेर आपराधिक गतिविधिमा संलग्न रहेको पनि भेटिएको छ । ८८ किलो सुन तस्करी प्रकरणका नाइके रहेका चिनियाँ पान वेमिङ र याङ वेनबिङ बिजनेस भिसामा लामो समयदेखि नेपाल बस्दै आएका थिए । हाल उनीहरू फरार छन् ।

गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रिता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो । युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए ।

विदेशमा अपराध, लुक्न नेपालमा
अमेरिकामा फरार रहेका निल स्टेमर पाँच वर्षअघि नेपालमा पक्राउ परेका थिए । नेपाली युवतीसँग बिहे गरेर उनी पोखरामा लुकेर बस्दै आएका थिए । अमेरिकाले दिएको सूचनापछि उनलाई पक्राउ गरी अमेरिका पठाइएको थियो । नेपाल लुक्न आएका अर्का एक अमेरिकी गत बिहीबार मात्र पक्राउ परेका छन् ।

त्यस्तै, चीन र कोरियामा फरार रहेका व्यक्तिहरू पनि नेपालमा लुकेर बसेको भेटिएका छन् । उनीहरूले पक्राउ गरी सम्बन्धित देश पठाइएको छ । नेपालमा विदेशी नागरिकलाई नियमन गर्ने प्रणाली नहुँदा यसरी लुक्न सहज भएको छ । पहिलोपटक गत वर्ष सरकारले बनाएको विदेशी नागरिक अनुगमन निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । विभागका महानिर्देशक पौडेल दुई महिनाअघि मात्र पोखरामा लुकेर बसेका विदेशीलाई स्वेदश फर्काइएको बताउँछन् । अन्य क्षेत्रमा पनि अनुगमन भइरहेको उनले बताए ।

एक वर्षमा चार सय विदेशी निष्कासित, धेरै चिनियाँ
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब चार सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । अपराधको प्रकृती हेरेर निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासनको संख्या हरेक वर्ष बढ्दै गएको विभागका महानिर्देशक पौडेल बताउँछन् ।

युरोप छिर्न नेपालको बाटो
इरानका तीनजना स्पेनको पासपोर्ट लिएर गत महिना नेपालबाट दिल्ली हुँदै स्पेनका लागि उडे । दिल्ली पुगेपछि थाहा भयो उनीहरूको पासपोर्ट नक्कली हो । दिल्ली विमानस्थलले नेपाल फर्काइदिएपछि मात्रै नेपालका अध्यागमन अधिकारीले चाल पाए उनीहरू इरानी नागरिक हुन् । नक्कली पासपोर्टका आधारमा उनीहरू युरोपियन देश छिर्ने प्रयासमा थिए ।

उनीहरूजस्तै मध्यपूर्वी एसियाका करिब ४० जना पछिल्लो एक वर्षमा नेपालमा पक्राउ परेका छन् । इरान, सिरिया तथा यमनका नागरिक यसरी नक्कली पासपोर्टमा नेपाल आउने प्रवृत्ति देखिएको छ । इरानीहरूले नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गरेपछि त्यो देशका नागरिकलाई अन अराइभल भिसा नै नदिने सरकारको तयारी छ ।

बोलिभियादेखि अफ्रिकासम्मका लागुऔषध तस्कर काठमाडौंमा

विगतमा नेपाल हेरोइन तस्करीको ट्रान्जिट थियो । पाकिस्तान र अफगानिस्तानमा उत्पादन हुने हेरोइन नेपाल हुँदै विश्वका विभिन्न देशमा पुर्‍याउने गरिन्थ्यो । पछिल्लो समय हेरोइन तस्करी घटेको छ । कोकिन, आइस ड्रगजस्ता लागुऔषध नेपालमा बरामद हुने गरेको लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी प्रेम शाही बताउँछन् ।

पछिल्लोपटक ४ भदौमा आइभोरी कोस्टका नागरिक मार्सेल गुहेवीलाई एक किलो ६ सय ग्राम कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो । त्यसअघि पोर्चुगलका नागरिक टिआगो मेन्डिस परेरिया चार किलो दुई सय ग्राम आइस ड्रगसहित ३ साउनमा पक्राउ परेका थिए । पछिल्लो पाँच वर्षमा करिब नौ सय विदेशी त नेपालमा लागुऔषध तस्करी मुद्दामा पक्राउ परेका छन् ।

लागुऔषध तस्करीमा चिनियाँदेखि बोलिभियन, मलेसियन र अफ्रिकनसम्म पक्राउ परेका छन् । नेपालको विमानस्थललाई सजिलै झुक्याउन सकिने र पक्राउ परे पनि अन्य देशको तुलनामा कम सजाय हुने ठानेर नेपाललाई अन्तर्राष्ट्रिय गिरोहले ट्रान्जिटका रूपमा दुरुपयोग गरेको हो । लागूऔषधको अन्तर्राष्ट्रिय तस्करीमा नेपाललाई मुख्य रुटमा राखिएको छ ।

नाइजेरियाको चिम्पान्जी नेपाल हुँदै भारतमा तस्करी
वन्यजन्तु तस्करीमा समेत नेपाल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दै गएको छ । विश्वमा वन्यजन्तुका अंगहरूको प्रमुख गन्तव्य चीन हो । जसकारण भारतबाट वन्जयन्तुका अंग चीन तस्करी गर्ने अन्तर्राष्ट्रिय समूह नै नेपालमा सक्रिय छ । अफ्रिकी देशबाट समेत नेपाल हुँदै अन्य देशमा वन्यजन्तु तथा तिनका अंग तस्करी हुन थालेको प्रहरीले जनाएको छ । दुई वर्षअघि दुई चिम्पान्जी नाइजेरियाबाट नेपाल हुँदै भारत तस्करी गर्ने क्रममा समातिएको थियो । जसमा भारतीय र पाकिस्तानी नेपालमा पक्राउ परेका थिए । सो समूहले भन्सार कर्मचारीलाई प्रभावमा पारी चरासँगै चिम्पान्जी तस्करी गरेका थिए । चरा ल्याउन छुट भएकाले चरासँगै लुकाएर चिम्पान्जी ल्याएका थिए । डेढ वर्षअघि दुई चिनियाँले अफ्रिकाको कंगोबाट टर्की हुँदै एक सय ६२ केजी सालकको खपटा नेपाल हुँदै चीनमा तस्करीको प्रयास गरेका थिए । १५ माघ ०७४ मा विमानस्थलबाट सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई पक्राउ गरेपछि यस्तो गिरोहबारे प्रहरीले पत्ता लगाएको थियो ।

चिट्ठा ठगीमा नाइजेरियनदेखि चिनियाँसम्म
नेपालमा चिट्ठा ठगीमा समेत विदेशीहरू संलग्न हुन थालेका छन् । गत १० वैशाखामा चिट्ठा ठगीको आरोपमा चिनियाँ नेतृत्वको एक गिरोहलाई सिआइबीले पक्राउ गरेको थियो । ठमेलको सातघुम्तीमा सिएफसी चाइजिन रेस्टुरेन्ट चलाउने चिनियाँ नागरिक वाङ होङछिया र भारतीय नागरिक अमित कुमारलाई सिआइबीले पक्राउ गरेको थियो । फेसबुक, भाइबर तथा इमोमार्फत चिट्ठा परेको भनेर झुक्याई त्यसका लागि केही कर तिर्नुपर्ने भन्दै पैसा हाल्न लगाएर उनीहरूले ठगी गरेका थिए । यो गिरोहका नाइके भने नाइजेरियन भएको र उनी विदेशमै भएको खुलेको थियो । चिट्ठाको नाममा ठगीमा वर्षौँदेखि नाइजेरियनले नेपालीलाई लक्षित गर्दै आएका छन् । नाइजेरियन मात्र नभई बेलायतमा बस्ने एक गिरोहले समेत सयौँ नेपालीलाई ठगी गरिसकेको छ । फेसबुकमा साथी हुने र महँगो उपहार पठाइदिने भन्दै भ्रममा पारेर भारतबाट करबापतको रकम मागेर ठगी हुने गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्–विदेशीमाथि कडाइ सुरु भइसक्यो

पछिल्लो समय विदेशी नागरिकहरू जसरी नेपालको भूमिमा आएर अपराध गरिरहेका छन्, त्यसमा हामी गम्भीर बनेका छौँ । अन्य देशमा अपराध गरेर नेपाल आउने र ट्रान्जिट बनाएर अन्य देश जाने गतिविधिमा पनि हामी सचेत छौँ ।

अहिले हामीले विदेशीको ट्रयाक रेकर्ड हेर्न थालेका छौँ । नेपाल आएका विदेशी फर्केर गए कि गएनन् भनेर हेर्ने सिस्टम हामीकहाँ छैन । अबको दुई महिनाभित्रमा यो सिस्टम सुरु हुन्छ । एक वर्षदेखि म यसैमा लागेको छु । शंकास्पद यात्रु कसैले बोकेमा एयरलाइन्सलाई समेत कारबाही गर्छौँ । अध्यागमनले आगमनमै कडाइ गर्ने हो । शंका हुनेबित्तिकै विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । अब विदेशीमाथि कडाइ गर्न थालेका छौँ । जुन देशले हामीलाई जस्तो व्यवहार गर्छ, हामी पनि त्यस्तै गर्छौँ । पहिलेजस्तो जोसुकैलाई भिसा दिँदैनौ । नेपालमा भिसा सजिलो छैन भन्ने सन्देश पनि दिन आवश्यक छ । पर्यटकको आवरणमा अपराधी नआओस् भन्ने हाम्रो उद्देश्य हो ।

प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्–शंकास्पद विदेशीलाई पस्नै नदिने प्रयास गरेका छौँ

नेपालमा विदेशीको आपराधिक गतिविधिले अवश्य पनि चुनौती थपेको छ । त्यसैले शंकास्पद विदेशीलाई देशमा आउनै नदिन हामीले अध्यागमन विभागसँग पनि सहकार्य गरेका छौँ । जसअनुसार केही महिनाअघिदेखि इन्टरपोलको डाटाबेस अध्यागमनले पनि प्रयोग गर्दै आएको छ । कतिपय शंकास्पद विदेशीलाई ‘इन्ट्री रिफ्युज’ गरेर विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । नेपालमा बस्ने विदेशीमाथि पनि प्रहरीले निगरानी गरिरहेको हुन्छ । अवैध रूपमा बस्दै आएका विदेशी पक्राउ गर्दै हामीले अध्यागमनमा समेत बुझाउने गरेका छौँ । अन्तरदेशीय अपराध अनुसन्धानमा पनि प्रहरीको क्षमता वृद्धि हुँदै गएको छ । बाल यौन दुराचारसम्बन्धी अपराध अनुसन्धानमा नेपालले पाएको सफलताको अन्तर्राष्ट्रिय रूपमै प्रशंसा भएको छ । एटिएम ह्याकर पनि भाग्न नपाउँदै समातिएका छन् । अपराध नियन्त्रण गर्न प्रहरी सक्षम छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।