काठमाडौं । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको प्रकरणमा संलग्न दोषीलाई कठोरभन्दा कठोर कानुनी सजाय दिन माग गर्दै स्वतन्त्र आमा समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन तथा दीप प्रज्ज्वलन गरेको छ।
प्रदर्शनमा सहभागी आमा समूहका सदस्यहरूले गरिमा चौधरीका लागि न्यायको माग गर्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका थिए। उनीहरूले बालबालिकामाथि हुने यस्ता जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमाका लागि न्याय’, ‘बालिकामाथि हुने हिंसा अन्त्य गर’, ‘दोषीलाई कठोर सजाय देऊ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
स्वतन्त्र आमा समूहले बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यस्ता घटनाको प्रभावकारी अनुसन्धान र दोषीमाथि कडा कारबाही सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
तस्बिरहरू- नेपाल फोटो सर्भिस
















