७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग



अ+ अ-

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको  विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा तमुधिँका अध्यक्ष होमबहादुर गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष गुरुङले विपत्मा परेका नागरिकको सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सानो भए पनि सहयोग गरिएको बताउनुभयो ।

“अन्नपूर्ण यस वर्ष विपद्को मारमा परेको छ, जनजीवन अस्तव्यस्त छ । यस्तो अवस्थामा गाउँपालिकाले सार्वजनिक आह्वान गरेअनुसार सहयोग गरेका हौँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

मोदी खोलाको बाढी र विभिन्न स्थानका पहिराका कारण यस वर्ष अन्नपूर्ण गाउँपालिका जिल्लामा धेरै प्रभावित बनेको छ । मोदीबाढीबाट अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ प्रवेश गर्ने वीरेठाँटीदेखि नै सडक यातयात बन्द अवस्थामा छ । सडक बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।

गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्जन्य घटनाका कारण गाउँपालिकाभित्रका सडक, पुल, होटललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।

गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ । अन्नपूर्णमा मोदी खोलाको बाढीले वीरेठाँटीमा पक्की कालोपत्र सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद छन् । खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ ।

विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । बाढीले बढी क्षति गरेको वीरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत हो । रासस