काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाउनुभएको छ ।
पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताउनुभएको हो ।
उहाँले दजनौँ पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताउनु भयो ।
मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उहाँको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उहाँले बताउनुभयो ।
केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उहाँको दाबी छ । उहाँले कम्युनिष्ट पार्टीका संगठनहरु चुस्तदुरुस्त हुनुपर्ने बताउनु भयो । उहाँले पार्टी नेताहरुमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाउनु भयो । पदप्राप्ती र पद मोहका कारण कम्युनिष्ट आन्दोलन विघटनउन्मुख अवस्था पुगेको उहाँको भनाई छ । उहाँले महाविधेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका कार्यमा पनि ढिलाई भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्ने र अलिकति रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनका निम्ति हामीले सुदृढ कम्युनिस्ट पार्टी सिङ्गो एउटा वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियानलाई अगाडि बढाउनुपर्दछ । छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकतावद्ध गर्नुपर्दछ । त्यसको निम्ति पहिलो साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने, एकताका नाममा बनेको भद्दा सङ्गठन जहाँ करिब करिब जनवादको अभ्यास नै छैन । हामी केन्द्रीय कार्य सम्पादन समितिमा त धेरै लामो बैठक बस्यौँ, छलफल ग¥यौँ । त्यो तलका समिति यति ठूला बनेर गएका छन् जहाँ दोहोरो संवाद करिब करिब हुन्न । कमरेडहरूका मनमा पनि धेरै कुरा छन्, राख्ने कुरा होलान् । दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन् । यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन् । तर एउटा अचम्मको संस्कार हामीकहाँ आएको छ, हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नु हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो । अनि केही कुरा आयो भने भो जिम्मा आयो भने भो अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस्, पटकपटक चाहिँ त्यो प्रकारको हुन्थ्यो । अब अहिले अलि बढी चाहिँ शायद यो खुला प्रतिस्पर्धाको राजनीतिले होला, पदप्रति अलि बढी हाम्रो माथिदेखि नै त्यो प्रकारको आकांक्षा छ । त्यो पदाधिकारीस्तरको भन्ने कमिटी ४५ जनाको छ केन्द्रमा, तल कसैलाई दोष छैन । तर मैले भन्न खोजेको सङ्गठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन । हामी एकताको एउटा विशिष्ट क्षणबाट आएका छौँ, त्यसैले हामी दर्जन सहइञ्चार्ज, दर्जन सहसंयोजक इत्यादि पनि हाम्रा निम्ति स्वीकार्य छन् । २४९९ भनेको केन्द्रीय समितिमा म किन परिनँको प्रश्नको जवाफ दिन ती अझै विस्तार हुँदैछन् । यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन, मैले बडा स्पष्ट भन्न चाहन्छु । त्यसैले हामी चाहिँ आगामी मङ्सिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त–दुरुस्तको कम्युनिस्ट पार्टी निर्माण गर्ने एउटा कार्यभारलाई लिएर आएका छौँ ।’
उहाँले पछिल्लो राष्ट्र सबैभन्दा बढी संकटमा परेको बताउनु भयो । राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ बनाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल











