४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी



अ+ अ-

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन ।

धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।

“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भन्नुभयो । उहाँका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

“अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन । त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौँ । अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,” उहाँले भन्नुभयो ।

भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन् । केही स्थानीय जातका बिरुवा पनि लगाइएको छ । उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउन उहाँले फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अपनाउनुभएको छ ।

“प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,” उहाँले भन्नुभयो । अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने डेढ वर्ष मात्र भएको विष्टले सुनाउनुभयो । धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज रहेको उहाँको अनुभव छ । “बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ । अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,” उहाँले भन्नुभयो ।

अम्बा पाकेपछि प्रायः आफैँले टिप्ने गरेको उहाँ बताउनुहुन्छ । ठेक्कामा बगैँचा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेका छन् । अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको अनुभव छ । बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफैँ आउने गरेका छन् । कतिपय ग्राहकले घरबाटै खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरी नेपालगञ्ज बजारमा लैजाने गरेका छन् ।

हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज हो । परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी उहाँ आगामी दिनमा अम्बा खेती विस्तार गर्दै आम्दानी बढाउने योजनामा हुनुहुन्छ । “अहिलेको आम्दानीले हौसला बढाएको छ । मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,” विष्टले भन्नुभयो । उहाँको यो व्यावसायिक खेतीको स्थानीयस्तरमा प्रशंसा मात्रै भएको छैन, अन्यले समेत अनुसरण गर्ने सोच बनाएका छन् । रासस