काठमाडाैँ । नापजाँच भएको करिब एक दशकपछि धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले साविक मखनाहा गाउँ विकास समिति–६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न गरेको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लामो समयसम्म पुर्जा वितरण हुन सकेको थिएन।
विगतमा आयोगमार्फत नाप नक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी कार्यालयले ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले पुर्जा पाएसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। लालपुर्जा प्राप्त भएपछि उनीहरूलाई जग्गाको स्वामित्व सुरक्षित हुनुका साथै त्यससम्बन्धी कानुनी तथा प्रशासनिक काम गर्नसमेत सहज भएको छ।











