काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरीले यसअघि अदालतबाट प्राप्त तीन दिनको म्याद सकिएपछि थप अनुसन्धान आवश्यक रहेको भन्दै सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएर म्याद थपको माग गरेको थियो। अदालतले प्रहरीको मागअनुसार थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसैबीच, श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
अदालतले थप चार दिनको म्याद दिएसँगै श्रेष्ठमाथिको अनुसन्धान जारी रहने भएको छ भने उनको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतको निर्णयलाई पनि चासोका साथ हेरिएको छ।











