३१ श्रावण २०८३, आईतवार
,
Latest
बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र



अ+ अ-

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रश्तावित ठूला विकास आयोजनाहरूलाई तिब्रता दिने घोषणा गर्नुभएको छ ।

विकास साझेदारहरूको सहयोगमा शुरु भएका महत्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख आचार्यकाअनुसार एशियाली विकास बैंक (एडीबी), कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू हाल कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् ।

एडीबीका आयोजनाका लागि आलुमैला चोक र कोइकाका लागि शिवालय चोकमा छुट्टाछुट्टै परियोजना कार्यालयहरू सञ्चालनमा आइसकेका छन् । विश्व बैंक र एडीबीका अन्य आयोजनाहरूको नेतृत्व महानगरको सहरी विकास तथा पूर्वाधार महाशाखाले गरिरहेको छ ।

महानगरले नगर विकास कोष (टिडीएफ) को साझेदारीमा पोखरा सभागृहको मर्मत सम्भार (रिनोभेसन) गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ । यस्तै, पोखराको मुख्य चुनौतीका रूपमा रहेको फोहोरमैला प्रशोधन केन्द्रको निर्माण प्रक्रिया प्राविधिक तयारी र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को चरणमा पुगेको उहाँले बताउनु भयो । यसको निर्माणको जिम्मेवारी पाएको टेरासोल कम्पनीले छिट्टै सिभिल निर्माणका काम शुरु गर्ने जानकारी दिएको छ ।

पोखरा बसपार्कको स्तरोन्नतिका लागि एडीबीका परामर्शदाताहरूले पृथ्वीचोक, विन्ध्यवासिनी र लामेआहालस्थित बसपार्कहरूको स्थलगत सर्वेक्षण गरिरहेका छन् ।

बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीहरूको अन्तिम नामावली प्रकाशन गरी सात दिने दाबी विरोधको सूचना जारी गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माण कार्य अघि बढाइने मेयर आचार्यले स्पष्ट पार्नुभयो । साथै, पोखराको यातायातलाई स्मार्ट बनाउन ‘ई–मोबिलिटी’ परियोजना अन्तर्गत यातायात व्यवसायीहरूसँगको सहकार्यमा काम भइरहेको छ ।

फिर्के खोलामा भएको अतिक्रमण हटाउन महानगरले भदौ १५ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैँले हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै असुल गरिने जनाइएको छ । असोज १ गतेदेखि फिर्के कोरिडोरको डिपिआर प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी, महानगरले असोज महिनालाई ‘सार्वजनिक जग्गा संरक्षण अभियान’का रूपमा मनाउने योजना बनाएको छ । सबै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन भइसकेको र अतिक्रमण हटाउन वडा कार्यालयहरूमार्फत विशेष अभियान सञ्चालन गरिने मेयर आचार्यले बताउनु भयो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र भूमि आयोगसँगको समन्वयमा लालपुर्जा वितरणको प्रक्रिया शुरु गरिएको छ । महानगरभित्रका २० हजार १०६ जनालाई यसै आर्थिक वर्षभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यका साथ प्रमाणीकरणको कार्य भइरहेको छ ।

मेयर आचार्यले भन्नुभयो, ‘पोखरामा विकास साझेदारहरूको सहयोगमा ठूला परियोजनाहरू अघि बढिरहेका छन् । अधिकांश परियोजना टेन्डर प्रक्रियामा छन् र भदौको पहिलो सातासम्म बाँकी ठूला परियोजनाको टेण्डर प्रक्रिया पनि अघि बढाइनेछ । एडीबी, कोइका र विश्व बैंकका परियोजनाहरू सम्बन्धित कार्यालय तथा महानगरको सहरी विकास तथा पूर्वाधार महाशाखामार्फत अघि बढिरहेका छन् । पोखरा सभागृहको पुनर्निर्माण सम्झौताको चरणमा पुगेको छ भने फोहोरमैला प्रशोधन केन्द्रको आईईई प्रक्रिया पूरा हुने क्रममा छ । पोखरा बसपार्कका सुकुम्बासीहरूको अन्तिम नामावली तयार भइसकेको छ । कानूनी प्रक्रिया पूरा गरी उनीहरूको उचित व्यवस्थापनपछि बसपार्क खाली गरिनेछ । त्यसपछि एडीबीको सहयोगमा पोखराका तीनवटै बसपार्क–विन्द्यवासिनी, पृथ्वीचोक र लामेआहाल–को सर्वेक्षण तथा पुनरावलोकन गरी निर्माण प्रक्रिया अघि बढाइनेछ । ई–मोबिलिटी र स्मार्ट यातायात प्रणालीको काम पनि कार्यान्वयनको चरणमा छ । फिर्के खोलाको हकमा भदौ १५ सम्म सम्बन्धित व्यक्तिहरूलाई संरचना हटाउन समय दिइएको छ । त्यसपछि असोज मसान्तसम्म स्थानीय सरोकारवालासँग छलफल गरी आवश्यक मापदण्ड र जग्गा व्यवस्थापन टुंग्याइनेछ । असोज १ गतेदेखि फिर्के करिडोरको डीपीआर प्रक्रिया अघि बढाइनेछ । खोलाभित्रका अधिकांश संरचना हटिसकेका छन् भने बाँकी संरचनाका आधारभाग पनि हटाइनेछ । सार्वजनिक जमिन संरक्षणका लागि असोज महिनाभर अभियान सञ्चालन गरिनेछ । महानगरसँग अभिलेखमा रहेका सार्वजनिक जग्गा पहिचान गरी अतिक्रमण हटाउने काम वडा कार्यालयमार्फत अघि बढाइनेछ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानूनबमोजिम व्यवस्थापन गरेर मात्र हटाइनेछ । तीनै तहका सरकारको समन्वयमा यो काम अघि बढाइनेछ । सीडीओको संयोजकत्वमा समिति गठन भइसकेको छ र प्रमाणीकरण तथा लालपुर्जा वितरणको प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा वडा नम्बर ९ को बसपार्क र फिर्के आसपासबाट प्रक्रिया अघि बढाइनेछ । पोखरामा वितरण गरिएका २० हजार १०६ निस्सालाई यही आर्थिक वर्षभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम भइरहेको छ । पोखराका ठूला परियोजनालाई अब निर्माण तथा सम्पन्नताको चरणमा पु¥याउने गरी काम तिब्र बनाइएको छ ।’

महानगरले सञ्चालन गरेका यी परियोजनाहरूले पोखराको आधुनिक स्वरूप निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । आचार्यले कुनैपनि राजनीतिक प्रभावमा नपरी सरकारी मापदण्ड र कानूनअनुसार नै सबै व्यवस्थापनका कार्यहरू सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल