२९ श्रावण २०८३, शुक्रबार
,
Latest
कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुँदै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेकी छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँबाट माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिइन्। राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो।

कोइरालाले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको प्रशंसा गरिन्। बाह्य तथा आन्तरिक चुनौतीका बाबजुद थापाले कांग्रेसलाई कुशल र परिपक्व ढङ्गले अगाडि बढाइरहेको उनले बताइन्।

बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले कांग्रेस बलियो र लोकप्रिय हुँदा त्यसविरुद्ध विभिन्न षड्यन्त्र हुने गरेको बताइन्। ‘गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो—कांग्रेस जब–जब बलियो र लोकप्रिय हुन्छ, तब–तब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठीक त्यस्तै अवस्था देखिएको छ,’ उनले भनिन्।

सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्ने विषयमा आफूलाई केही चिन्ता लागेको भए पनि अहिले उनले आफ्नो कार्यक्षमता र व्यवहारबाट सफल नेतृत्व प्रमाणित गरिसकेको कोइरालाले बताइन्।

थापाको सभापतित्वपछि कांग्रेसमा नयाँ पुस्ता र युवाहरूको आकर्षण बढेको दाबी गर्दै उनले आगामी आमनिर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरिन्। सातै प्रदेश तथा स्थानीय तहमा समेत कांग्रेसको वर्चस्व कायम हुने उनको भनाइ थियो।

इतर समूहका नेताहरूलाई समयको पदचाप बुझेर विग्रहको बाटो त्याग्न आग्रह गर्दै कोइरालाले पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पारिन्। वैधानिक नेतृत्वलाई साथ दिँदै पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता–कार्यकर्तालाई उनले आह्वान गरिन्।