काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामूहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भए पनि राष्ट्रिय हित दीर्घकालीन हुने भएकाले परराष्ट्र नीतिलाई स्थिर र साझा राष्ट्रिय दृष्टिकोणका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
सभापति उदासले नेपालले कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीनवटा मुख्य प्रश्नलाई राष्ट्रिय हितको मापदण्ड बनाउनुपर्ने प्रस्ताव गर्नुभयो । उहाँका अनुसार पहिलो, सम्बन्धित निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने मूल्याङ्कन गर्नुपर्छ ।
दोस्रो, उक्त निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा कति योगदान पुर्याउँछ भन्ने हेर्नुपर्ने उहाँको भनाइ छ । तेस्रो, त्यस निर्णयले भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्न सहयोग गर्छ भन्ने पक्षलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
“नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनु आजको आवश्यकता हो । परराष्ट्र नीति कुनै दल, सरकार वा व्यक्तिको स्वार्थको विषय होइन, सम्पूर्ण नेपाली जनताको सामूहिक हितसँग जोडिएको राष्ट्रिय नीति हो,” सभापति उदासले भन्नुभयो ।
उहाँले सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुन सक्ने तथा प्राथमिकतासमेत फेरिन सक्ने भए पनि नेपालको राष्ट्रिय हित दीर्घकालीन हुने बताउनुभयो । तीनवटै प्रश्नको उत्तरलाई नेपालको राष्ट्रिय हित मापन गर्ने आधार बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सभापति उदासले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताउनुभयो ।











