काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट नियन्त्रणमा लिएको हो।
श्रेष्ठविरुद्ध एक युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी परेको थियो।
गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै सम्बन्धित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।
सोही जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।











