२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै



अ+ अ-

नैरोबी। चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (इभी) उत्पादनतर्फ चिनियाँ कम्पनीको चासो बढेको देखिएको छ ।

चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन् । विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ ।

यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन् । जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यात कर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेको थियो । चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग–इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ ।

यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनियाँ कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो । यसअघि बेइजिङ अटोमोटिभ ग्रुप (बीएआइसी)ले दक्षिण अफ्रिकाको ग्केबेरामा उत्पादन तथा एसेम्बली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटरले पनि स्थानीय एसेम्बली र पार्टपुर्जा आपूर्ति गर्दै आएको छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने दक्षिण अफ्रिकी संस्था ‘द इलेक्ट्रिक मिसन’का कार्यकारी निर्देशक हितेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताउनुभयो । विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ इभी लगानीका लागि बढी सम्भावना भएका देश हुन् ।

औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ । मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति शृङ्खलालाई सहयोग पुर्याउन सक्छ ।

स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्टपुर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ । मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ । तीव्र शहरीकरण, बढ्दो आम्दानी र चिनियाँ ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनियाँ अटोमेकरको बजार विस्तार भइरहेको छ ।

यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन् । ‘जिरो कार्बन एनालिटिक्स’का ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभयो । स्थानीयरूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

‘क्रसबाउन्डरी इनर्जी’का प्रबन्ध निर्देशक टोम्बो बान्डाका अनुसार चिनियाँ कारखानाले आन्तरिक बजारको मागभन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढिरहेका छन् । त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनियाँ कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उहाँले बताउनुभयो ।

सरकारी नीतिले ईभी उत्पादनलाई प्रोत्साहन

अफ्रिकी मुलुकले ऊर्जा सुरक्षा र इन्धन आयात घटाउने उद्देश्यले यातायातसम्बन्धी नीति परिवर्तन गर्न थालेका छन् । अफ्रिकी सङ्घले अपनाएको ‘हरित खनिज रणनीति’ले महत्वपूर्ण खनिजको स्थानीय प्रशोधनलाई प्राथमिकता दिएको छ, जसबाट विद्युतीय सवारीको ब्याट्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इथियोपियाले जीवाश्म इन्धनबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदै स्वदेशमै एसेम्बल गरिएका विद्युतीय सवारीमा कम आयात शुल्क लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ । दक्षिण अफ्रिकाले भने विद्युतीय तथा हाइड्रोजनबाट चल्ने सवारी उत्पादनमा लगानी आकर्षित गर्न भन्सार छुट, उत्पादनमा आधारित कर सहुलियत, प्रत्यक्ष नगद लगानी र कर छुटलगायतका प्रोत्साहन उपलब्ध गराउँदै आएको छ ।

परमारका अनुसार चिनियाँ तथा अन्य एसियाली अटोमेकरको रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ । उनीहरू सवारी आयातमा मात्र निर्भर नरही स्थानीय एसेम्बली र उत्पादनतर्फ अघि बढिरहेका छन् । बान्डाले अफ्रिका अब आयातित सवारी साधनको बजारमा मात्र सीमित नरही उत्पादन केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अफ्रिकी बजारमा दीर्घकालीन पहुँच चाहने कम्पनीले स्थानीयस्तरमै उत्पादन र मूल्य अभिवृद्धि गर्नुपर्नेछ ।

दक्षिण अफ्रिका अग्रस्थानमा

दक्षिण अफ्रिकासँग स्थापित सवारी उत्पादन उद्योग, दक्ष जनशक्ति र निर्यात बजार भएकाले विद्युतीय सवारी उत्पादन विस्तारका लागि ऊ अग्रस्थानमा रहेको बान्डाको भनाइ छ । रोस्लिन जस्ता विद्यमान कारखानालाई नयाँ प्रविधिअनुसार परिमार्जन गर्न सकिने भएकाले नयाँ कारखाना निर्माणभन्दा कम समय र लगानीमा उत्पादन सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

यद्यपि, पेट्रोल तथा डिजेलबाट चल्ने सवारी उत्पादनका लागि बनाइएका कारखानालाई विद्युतीय सवारी उत्पादनमा रूपान्तरण गर्नु जटिल हुने उहाँले बताउनुभयो । लगानी आकर्षित गर्न कर, भन्सार तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक पर्ने उहाँको भनाइ छ । भरपर्दो विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारबिना विद्युतीय सवारीको विस्तार कठिन हुने बान्डाले बताउनुभयो । उहाँका अनुसार ईभी उत्पादन र प्रयोग विस्तारका लागि स्वच्छ, भरपर्दो तथा किफायती विद्युत र पर्याप्त चार्जिङ संरचना आवश्यक छ । रासस/एपी 




भर्खरै