काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रश्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
महानिरीक्षक कार्कीले वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूलाई विना आधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादनमा असर पुग्ने बताउनु भयो । सो क्रममा उहाँले प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी र निवेदनहरूको सन्दर्भ उल्लेख गर्दै सबै विषयलाई एउटै दृष्टिकोणले हेर्न नहुने धारणा राख्नुभयो । जिम्मेवार ठाउँमा बसेर बोलिने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले तथ्यहीन आरोपले कर्मचारीहरूको मनोबल गिराउन सक्ने भन्दै सचेत गराउनु भयो ।
महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजसम्म निष्ठापूर्ण काम गर्या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ । जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनैपनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि । एउटा त्यो पनि मैले भन्दै छु । त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि । सबैका पर्या निवेदन यस्तै गरी आउँदा खेरि गारै पर्छ । अब म पनि सोच्दै छु, ल्याउँ कि क्या हो ।’
महानिरीक्षक कार्कीले छलफलका क्रममा शिष्टता कायम राख्न र संस्थागत मर्यादालाई आत्मसात गर्न संवद्ध पक्षको ध्यानाकर्षण समेत गराउनु भयो । बैठकमा सांसद खगेन्द्र सुनार लगायतका सांसदहरुले नेपाल प्रहरीमाथि आरोप लगाएका थिए । –न्युज एजेन्सी नेपाल











