काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ ।
सोमवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको र सभामुखबाट सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन भइसकेको स्मरण गराउँदै यादवले हालसम्म उक्त विषय सदनको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
ढल्केबर ट्रमा सेन्टरका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्दा विभिन्न शङ्का–उपशङ्का उब्जिएको उहाँको भनाइ छ । सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
हालै सुनसरीमा घटेको साम्प्रदायिक घटनाको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, ‘अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुनः आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ । त्यसैले सरकारले यस विषयमा बेलैमा स्पष्ट पार्नुपर्छ ।’
समितिका सभापतिमार्फत स्वास्थ्य मन्त्रीलाई सार्थक पहलका लागि आग्रह गर्दै उहाँले ट्रमा सेन्टर निर्माणमा किन अवरोध सिर्जना भएको हो भन्नेबारे देशलाई स्पष्ट पार्न माग गर्नुभयो । सोमबारको समिति बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल भइरहँदा सांसद यादवले उक्त धारणा राख्नुभएको हो ।











